कुलमानले लोडसेडिङ हटाएको होइन, अब लोडसेडिङ हुन्छ: दीपक खड्का (भिडियो)


काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ नभएको बताएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य घिसिङले नभई भारत र निजी क्षेत्रले गरेको बताए ।

‘निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ । त्यसकारण उज्यालोको नायक भनेको उहाँ होइन है,’ खड्काले भने, ‘बरु यो धन्यावाद भारतलाई दिउँ निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यावाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो।’

घिसिङले उद्योगको लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्कको आरोप छ । उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे।

उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपूर्ति धानिरहेको बताए ।

‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने,’ हिजो पनि उद्योगधन्दातिर बत्ति कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

मन्त्री खड्काले प्राधिकरण नाफा गएको भनिए पनि महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा २ खर्ब रुपैयाँभन्दा बढी घाटा देखाएको बताए । प्राधिकरण नाफा रहको भनि गरिएको दाबीमा कुनै सत्यता नभएको उनको भनाइ छ ।

Skip This