
विराटनगर । पूर्वका प्रमुख नाका विराटनगर र काँकरभिट्टाबाट प्लाइउड निकासी चार दिनदेखि ठप्प भएको छ । भारतले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस)को मापदण्ड पूरा नगर्ने नेपाली प्लाइउड उद्योगको उत्पादनको भन्सार चेकजाँच गर्न छाडेपछि निर्यात रोकिएको हो ।
बीआईएसको मापदण्ड पूरा नगरेका उद्योगले काँकडभिट्टा भन्सारबाट निकासी गरेको ३४ ट्रक प्लाइ भारतको पानी ट्यांकी भन्सारले रोकेको हो । भारतको जोगबनी भन्सारले बीआईएस नलिएका उद्योगको उत्पादन नपठाउनु भनेपछि विराटनगर नाकाबाट निकासी होल्ड गरिएको नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेले क्लिकमान्डुलाई जानकारी दिए ।
नेपालमा प्लाइउडका ८० वटा उद्योग छन् । तीमध्ये ४५ वटाले भारत निकासी गर्दै आएका छन् । अध्यक्ष घिमिरेले भने, ‘ती मध्ये २ उद्योगले मात्र बीआईएस मापदण्ड पूरा गरेका छन् । दुईबाहेक सबै उद्योगको निकासी ठप्प भएको हो ।’ उनका अनुसार भैरहवा, कृष्णनगर र नेपालगञ्ज नाकाबाट पनि निकासी यसबेला ठप्प छ ।
घिमिरेले भने, ‘भारत निकासी गर्ने ४५ उद्योगमध्ये विराटनगरका सेन्चुरी र ग्रीन प्लाइले मात्र बीआईएस प्रमाणपत्र लिएका छन् । भारतबाट प्राविधिक आएर विभिन्न ६ वटा उद्योगको मात्र निरीक्षण गरेर विराटनगरको सेन्चुरी र ग्रीन प्लाइलाई मात्र बीआईएस स्ट्यान्डर्ड सर्टिफाइ गरेर फर्के’ उनले भने, ‘अन्य उद्योगमा निरीक्षण नै गरेनन् ।’
उनका अनुसार आफूहरुले ल्याब लगायतका सबै मापदण्ड पूरा गरी भारतीय बीआईएसलाई करसमेत बुझाइसकेको अवस्थामा समय बाँकी हुँदै निकासी बन्द गरिनु न्यायसंगत देखिँदैन ।
भारतले नेपाली प्लाउड उद्योगलाई बीआईएस मापदण्ड पूरा गर्न आगामी अगस्टसम्म समय सीमा तोकेको थियो । तर भारतीय पक्षले समय सीमा पहिला नै बीआईएसका नाममा नेपाली प्लाइको निकासीमा अवरोध गरेको घिमिरेको गुनासो छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा नेपाल र भारतको परराष्ट्रमन्त्री बीच यो विषयमा द्विपक्षीय वार्ता भइरहेको छ । घिमिरेले परराष्ट्र मन्त्रालय स्रोतलाई उधृत गर्दै क्लिकमान्डुसँग भने, ‘भारतीय पक्षले दुई चार दिनमा यो समस्याको समाधान हुने आश्वासन दिएको छ ।’ यो आश्वासनले चाँडै निकासीले निरन्तरता पाउनेमा आफू ढुक्क रहेको उनले बताए ।
भारतको उद्योग संबर्धन तथा आन्तरिक वाणिज्य विभागले २०२४ नोभेम्बर मा जारीगरेको सूचनामा नेपाली प्लाइउडका लघु, साना तथा मझौला उद्योगले २०२५ फरबरी २८ सम्म बीआईएस लिनु नपर्ने उल्लेख थियो ।
विभागले २०२५ फरबरी २८ मा अर्को सूचना जारी गर्दै लघु, साना तथा मझौला उद्योगले आगामी अगष्ट २८ सम्ममा बीआईएस लिनुनपर्ने जनाएको थियो ।
नेपाली प्लाइउड उद्योगले गतवर्ष ८ अर्ब रुपैयाँको प्लाई भारत निकासी गरेको थियो ।
‘यो वर्ष १० अर्बको निकासी गर्ने लक्ष्य थियो,’ घिमिरेले भने, ‘भारतको अवरोधले लक्ष्य पूरा गर्न गाह्रो भयो ।’ उनका अनुसार चालु वर्षको फागुनसम्ममा करिब ६ अर्बको प्लाई भारत निकासी भएको छ ।
मेची भन्सार कार्यालय काकडभिट्टाका प्रमुख राजेन्द्रप्रसाद चुडालले मेची भन्सारबाट जाँचपास भएर भारतीय भन्सार पानीट्यांकी पुगेका प्लाइ बोकेका ३४ वटा ट्रकको जाँचपास नभइ रोकिएको जानकारी आएको बताए । यता विराटनगर नाकाबाट ४ दिनदेखि उद्योगीले प्लाइ निकासी गरेका छैनन् । जोगबनीका भन्सार अधिकारीले प्लाइ नपठाउनु भनेपछि रोकेको अध्यक्ष घिमिरेको भनाइ छ ।
नेपाल सरकारले तयारी प्लाइउडको निकासीमा नगद ४ देखि ८ प्रतिशतसम्म अनुदान दिने निर्णय गरेपछि उद्योगीले गत आर्थिक वर्षदेखि निर्यातलाई प्राथामिकता दिएका थिए ।
यहाँका उद्योगले पहाडी क्षेत्रमा पाइने उत्तिस, चिलाउने, कदम, आँप, आस्ना, कर्मा लगायतका काठको भेनियरबाट प्लाइउड बनाउँदै आएका छन् ।
नेपालबाट प्लाइ मात्र नभएर चीनतर्फ भेनियर पनि निकासी हुँदै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट चीननतर्फ २४ लाख ४५ हजार रूपैयाँको भेनियर निकासी भएको छ ।
आव २०७९/८० मा ४ करोड १० लाख २८ हजार रुपैयाँ बरबरको भेनियर भारत निकासी भएको देखिन्छ । त्यसैगरि चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा २९ करोड ३१ लाख १२ हजार बराबरको भेनियर भारत र चीन निकासी भएको तथ्यांक छ।
त्यसैगरी आर्थिक वर्ष २०७८/२०७९ मा प्लाइउड, प्लसडोर र ब्लकबोर्डको निकासी २७ करोड ६६ लाख ७२ हजार थियो । आर्थिक वर्ष २०७९/२०८० मा ४ अर्ब ६८ करोड ९८ लाख ४४ हजार बराबरको प्लाइको निकासी भएको थियो । आव २०८०/२०८१ मा ४ अर्ब ८६ करोड ८६ लाख २६ हजार बरबरको प्लाइ भारत निकासी हुँदा चालु वर्षको फागुन समान्तसम्ममा ६ अर्बको प्लाइउड भारत निकासी भएको भन्सारको तथ्यांक छ । उद्योगीले करिब १० अर्बको निकासी गर्ने लक्ष्य राखेको बताएका छन् ।
प्रतिक्रिया