नेप्सेको सीईओका लागि सर्ट लिस्टमा परेका ५ जनाले पेश गरे व्यावसायिक कार्य योजना


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि सर्टलिस्टमा परेका ५ जनाले व्यावसायिक कार्य योजना प्रस्तुत गरेका छन् ।

आज अर्थ मन्त्रालयमा सर्ट लिस्टमा परेमा ५ जनाले व्यावसायिक कार्य योजना प्रस्तुत गरेका हुन् । आवेदन दिएका १० जनामध्ये सर्ट लिस्टमा पूर्णप्रसाद आचार्य, हेमन्त बस्याल, नारदकुमार लुइँटेल, बद्रीप्रसाद प्याकुरेल र चुडामणी चापागाईं परेका छन् ।

नेप्सेको सीईओ बन्न आवश्यक योग्यता तय गरिएको छ । सीईओ बन्नका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ क बमोजिम अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्छ । यस्तै चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधी हासिल गरेको हुनुपर्छ ।

यस्तै पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएको हुनुपर्छ । उच्च व्यवस्थापकीय तह भन्नाले सरकारको अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको हुनुपर्छ ।

Skip This