
विराटनगर । मोरङको सीमावर्ती धनपालथान गाउँपालिका वडा नं. ६ र ७ को बीच बोरिङ टोलको मुस्लिम बस्तीमा मंगलबार दिउँसो आगलागी हुँदा ३ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।
घटनास्थलमा रहेका पालिका प्रमुख जिवछ गच्छदारका अनुसार सनिक खातुनकी ३ वर्षीया छोरी रेश्माको जलेर मृत्यु भएको हो ।
घरमा कोही नभएको अवस्थामा आगलागी हुँदा ती बालिकाको जलेर मृत्यु भएको गच्छदारको भनाई छ । आगलागी हुँदा सनिकका छोरा चाहिँ भागेर ज्यान जोगाउन सफल भएको उनले बताए ।
आगलागीबाट ९ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएको पालिका प्रमुख गच्छदारले बताए । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले नियन्त्रणमा लिएका छन ।
आगलागीबाट भएको क्षतिको विवरण आइनसकेको मोरङ प्रहरीले बताएको छ । ‘मंगलबार बिहानै देखि हावाहुरी चलिरहेको छ,’ प्रहरीले भन्यो, ‘आगो कसरी लाग्यो खुलेको छैन ।’
त्यसैगरी सोमबार विराटनगर र भोजपुरका विभिन्न स्थानमा आगलागी हुँदा डेढ दर्जन घर जलेर नष्ट भएका थिए । विराटनगर-१, शंकरपुरमा आगलागी हुँदा ४ घर तथा भोजपुर नगरपालिका-१२, पारमानेमा १० र अरुण गाउँपालिका-४, सुन्तलाबारीमा दुई घर जलेर नष्ट भएका थिए ।
प्रतिक्रिया