
काठमाडौं । अर्थ सचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको वित्तीय स्रोतलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् । कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उनले आम नागरिकलाई कसरी कोषमा आवद्ध गराउने भन्नेतर्फ कोषले काम गर्नुपर्ने बताए ।
सामाजिक सुरक्षाको क्षेत्रमा कोषले थप कार्य गर्नुपर्ने अर्थसचिव उपाध्यायले बताए । आगामी दिनमा नागरिकको हितमा कोषले काम गर्दै अपेक्षा रहेको उनले बताए ।
कोष सञ्चालक समिति अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापाले उच्च आर्थिक विकासमार्फत मात्रै समाजमा देखिएको विद्यमान बेरोजगारीको अन्त्य गर्न सकिने भन्दै दिगो विकास र स्थायित्वमा जोड दिनुपर्ने बताए । आगामी दिनमा कोषले देशको आर्थिक वृद्धिदरमा टेवा पुर्याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने उनले बताए ।
कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक बर्ष सहभागी संख्या बृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजनाहरु सफलता पूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उनले बताए ।
कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले २ करोड ४४ लाख रुपैयाँको चुक्ता पुँजीबाट सुरु भएको कोषको अहिले चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख पुगेको बताए । कोषमा आवद्ध करिब ७ लाख सहभागीलाई ध्यानमा राखेर सरल र झन्झट रहित सेवा र कोषको हिसाव किताव चुस्त दुरुस्त राख्न अटोमेसन र डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेको बताए ।
कोषले लगानी विविधीकरणमा सघाउ पुग्ने गरी कर्जा नीति र लगानी नीतिमा केही परिमार्जन गरेको उनले बताए । आवश्यकता अनुसार थप परिमार्जन गर्दै आगामी दिनमा सरकारी प्राथमिकताका पूर्वाधार निर्माण, कृषि, उद्योग, पर्यटन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न एवं पुँजी बजारको विकासमा थप सक्रिय हुने गरी कोषले कार्य गर्ने कार्यकारी निर्देशक कार्कीले बताए ।
चालु आवको पुस मसान्तसम्म कोषको वित्तीय स्रोत २ खर्ब ७३ अर्ब रुपैयाँ रहेको छ । उक्त स्रोतबाट मुद्दती निक्षेप, नेपाल सरकारको ऋणपत्र, समयकालीन कर्जा, सहायक कम्पनी, सहभागी सापटी तथा आवास कर्जा, ट्रेजरी बिल एवं संगठित संस्थाको सेयर/धितोपत्र लगायतमा २ खर्ब ६४ अर्ब रुपैयाँ लगानी रहेको रहेको कार्यकारी निर्देशक कार्कीले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताए । ढकालले त्यस्ता कोषहरुको लगानी पूर्वाधार निर्माण, रोजगारी सिर्जना, पर्यटन प्रवद्र्धन, हाइड्रोपावरलगायतका क्षेत्रमा गर्नु पर्नेमा जोड दिए । उनले लगानी कोषको ठूलो रकम बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताए ।
प्रतिक्रिया