फूल बिक्री गरेरै मासिक दुई लाख आम्दानी


तनहुँ । आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले पुष्पको व्यापारबाट मासिक दुई लाख रुपैयाँ आम्दानी गर्दैआएकी छन् ।

२०७७ मा तीन हजार पाँच सय रुपैयाँ लगानी गरेर फूलको व्यापार सुरु गरेकी गुरुङले सभा, सेमिनार, पास्नी, विवाहलगायतका उत्सवको सजावटसमेत गर्दै आएकी छन् ।

गुरुङका अनुसार राम्रो कार्यक्रम भएमा सिजनमा महिनामै २० लाख रुपैयाँसम्मको कारोबार हुन्छ । अन्य समयमा मासिक आठ–नौ लाखसम्म कारोबार हुने गरेको छ । खर्च कटाएर मासिक करिब दुई लाख रुपैयाँ बचत हुने उनले बताइन ।

‘पोखरा र काठमाडौंमा काम भइरहेको छ । ग्राहकलाई थप सहजता दिन काठमाडौंमा नयाँ शाखा खोल्ने तयारी गरेका छौँ’, गुरुङले भनिन।

अब फूल व्यवसायलाई अझ व्यवस्थित बनाउन नर्सरी स्थापना गर्ने तयारी गरेको उनले जानकारी दिइन ।

‘व्यवसाय विस्तारका लागि जग्गा खोजी भइरहेको छ, फूल तथा बिरुवा उत्पादन र बिक्री अझ प्रभावकारी बनाउनेछौँ’, उनले भनिन ।