
काठमाडौं । भारतबाट कोटाको गहुँ आयात गर्न सरकारले सातवटा व्यापारिक प्रतिष्ठान छनौट गरेको छ ।
भारतले नेपाललाई कोटा सुविधाअन्तर्गत ९० हजार मेट्रिक टन गहुँको सुविधा उपलब्ध गराएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयात गर्नका लागि सातवटा व्यापारिक प्रतिष्ठान छनोट गर्नुका साथै उनीहरुलाई कोटा पनि प्रदान गरेको छ । छनोटमा परेका व्यापारिक प्रतिष्ठानहरुलाई जनही ३ हजार मेट्रिक टनको दरले कोटा पनि निर्धारत गरिएको छ ।
विभागले गहुँ आयात गर्नको लागि कालीमाटीस्थित विशाल ट्रेड लिंक, कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज र गुञ्जेश्वरी ट्रके लिंक, वीरगञ्जस्थित जोश नेपाल ट्रेडर्स, कैलालीस्थित मन्सा इन्टरनेशनल र काठमाडौंको डिल्लीवजारको दुर्गा ब्रदरर्स कन्सर्न र ज्ञान इन्टरपाइजेजलाई छनोट गरेको हो ।
विभागले गत माघ १४ गते भारतबाट कोटाको गहुँ आयात गर्नका लागि आवेदन माग गरेको थियो ।
एउटा व्यापारिक प्रतिष्ठानले न्यूनतम १ सय मेट्रिक टन र बढीमा १० हजार मेट्रिक टन गहुँ आयात गर्न पाउने शर्त विभागले तोकेको थियो । यस्तै आयात गर्ने इच्छुक फर्म र कम्पनीको चुक्तापुँजी कम्तिमा एक करोड रुपैयाँ हुनुपर्ने पनि शर्त तोकिएको थियो ।
गहुँ भारतको नेशनल कोअपरेटिभ एक्सपोर्ट लिमिटेडबाट खरिद गर्नुपर्ने र खरिद गर्नका लागि शत प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने र कोटा प्राप्त गरेका प्रतिष्ठानले तीन महिनाभित्रमा आयात गरिसक्नुपर्ने शर्त तोकिएको थियो ।
यो शर्तको अधिनमा रहेर गहुँ आयातको लागि ५९ वटा व्यापारिक प्रतिष्ठानले आवेदन दिएका थिए । त्यसमध्ये ७ वटा प्रतिष्ठानलाई छनोट गरिएको विभागका प्रवक्ता डिकवहादुर कार्कीले जानकारी दिए ।
प्रतिक्रिया