अहिलेको सरकार विचौलियाले चलाइरहेका छन्: प्रचण्ड

84
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार प्रधानमन्त्री र मन्त्रीहरुले नभई विचौलियाहरुले चलाइरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारका सबै नियुक्ति र निर्णयमा बिचौलियाहरुको हस्तक्षेप रहेको दाबी गरे । उनले पछिल्लो आठ महिनामा विचौलियाको प्रभावबिना गरेका निर्णय र नियुक्ति देखाउन सरकारलाई चुनौती समेत दिए । अध्यक्ष दाहालले वर्तमान सरकारको ड्राईभिङ सिटमै विचौलिया रहेको आरोप लगाए ।

‘सरकारको दुई तिहाईको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले चलाएको मैले चाहीँ देखेको छैन । त्यो घोडा बिचौलियाहरुले चलाएका छन्,’ उनले भने, ‘तपाईहरुले गर्ने नियुक्ति, तपाईहरुले गर्ने सेटिङ तपाईहरुले गरेको मैले त देख्दिन ति त विचौलियाहरुले उनीहरुले निर्णय गरेअनुसार भएको देखेको छु । म चुनौतीका साथ भन्न चाहन्छु पछिल्लो आठ महिनामा एउटै नियुक्ति, एउटै, नीति र एउटै निर्णय मलाई भनिदिनुस् जसका पछाडि बिचौलिया छैन । जम्मा एउटा उदाहरण दिएमात्र हुन्छ । सत्ताको ड्राइभिङ सिटमै विचौलिया छ ।’

उनले वर्तमान सरकार संसदको बलमिच्याँइ र संविधानको अपहेलनाबाट बनेको आरोप समेत लगाए ।