
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजालाई आफूले सडकमा ल्याएपछि राप्रपा र राप्रपा नेपालले ढोक्सा थापेको आरोप लगाएका छन् ।
भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन कसैले नसकेको बताउँदै आफूले नै ल्याएको दाबी गरे ।
आफूले केही वर्षअघि राजा ल्याउने अभियान चलाउँदा सबैले खेदो खनेको उनको भनाइ छ ।
उनले पूर्वराजालाई हात समातेर नारायणहिटी छिराउने तयारी गरिएको बताए ।
उनले राजसंस्था हट्नुमा कमल थापा र राजेन्द्र लिङ्देनको भूमिका रहेको बताए । उनीहरुले २०७२ मा संविधान जारी गर्दा हस्ताक्षर नगरेको भए राजसंस्था जोगिने बताउँदै प्रसाईंले अहिले आफूले माहोल बनाएपछि उनीहरु धमिलो पानीमा माछा मार्न आएको बताए ।
प्रसाईंले राप्रपा देखाउनका लागि काठमाडौं महानगरपालिकामा १ लाख रुपैयाँ तिर्न गएको आरोपसमेत लगाए ।
‘कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो,’ उनले भने, ‘अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?’
चैतदेखि राप्रपाले आन्दोलन गर्न लागेको भन्दै आफूलाई पनि सहकार्यका लागि बोलाएकोमा उनले आक्रोश पोखे । आफूलाई गोठाला जस्तो सोचेको भन्दै उनले राप्रपाहरुसँग भन्दा आफूले राजसँग मिलेर आन्दोलन गर्ने बताए ।
‘आउनुपर्यो रे मलाई । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु । गोठालासँग सडकमा जान्न,’ उनले भने, ‘राजालाई सचिवालयले बिगारेको छ । हामी बनाउछौँ । कलियुगको अर्जुन हो दुर्गा प्रसाईं तपाइँ रथ चलाउनू । गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न ?’
प्रतिक्रिया