फोहोर गरेको एमालेले अझै तिरेन महानगरलाई जरिबाना, राप्रपाले २४ घण्टा नबित्दै बुझायो १ लाख

एमालेमाथि कानुनी कारबाही अघि बढाउँदै बालेन

7k
Shares

काठमाडौं । काठमाडौं महानगरभित्र कुनै कार्यक्रमका क्रममा भौतिक सम्पत्तिमा क्षति र वातावरण प्रदुषण भएको खण्डमा महानगरपालिकाले जरिबाना तिराउन थालेको छ ।

गत मंसिर ७ गते सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा मुख्य सडक अवरुद्ध गर्दै कार्यक्रम गरेको थियो । त्यसक्रममा फोहोर गरिएको भन्दै काठमाडौं महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिबानाको पत्र काट्यो ।

मंसिर ९ गते महानगर प्रहरीको टोली चिट्ठी बुझाउन एमालेको मुख्यालय च्यासल पुग्यो । तर एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिबाना तिर्न नपर्ने भन्दै पत्र लिन अस्वीकार गरे ।

त्यतिमात्र होइन उनले कार्यक्रमको आयोजक एमाले केन्द्रीय कार्यालय नरहेको बताएका थिए । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्टन्टबाजी गरेको भन्दै उनले सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन आग्रह गरेका थिए ।

एमालेले पत्र नबुझेपछि महानगरको टोली च्यासलबाट फर्किएको थियो ।

सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिमको दोस्रो पटक पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरु एमाले कार्यालय पुगेका थिए ।

एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले जरिबाना पत्र हुलाक र इमेलमार्फत पठाएको थियो । तर अहिलेसम्म पनि एमालेले उक्त जरिबाना रकम तिरेको छैन ।

काठमाडौं महानगरका मेयर बालेन शाहका प्रेस सहयोगी सुरेन्द्र बजगाईं एमाले अहिलेसम्म जरिबानाको रकम नबुझाएको क्लिकमान्डुलाई जानकारी दिए । ‘एमालेलाई इमेल, हुलाकमार्फत पत्र पठाएका थियौं,’ बजगाईंले भने, ‘लामो समयदेखि नतिरेकाले अब कानुनी प्रक्रियामा जाने तयारीमा छौं ।’

राप्रपाले २४ घण्टा नबित्दै बुझायो

तर, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले भने जरिबानाको पत्र काटेको २४ घण्टा नबित्दै महानगरलाई १ लाख रुपैयाँ बुझाएको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपासहित राजावादी संगठनका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भेला भएका थिए । तीनकुनेसहित विभिन्न स्थानमा भेला हुने क्रममा उनीहरुले बगैंचा, सडक पेटी तथा रेलिङमा क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई १ लाख जरिबानाको पत्र काटेक थियो ।

त्यसको २४ घण्टा नबित्दै राप्रपा नेता ज्ञानेन्द्र शाही सोमबार महानगरको कार्यालय पुगे । त्यसक्रममा उनले १ लाख रुपैयाँ जरिबाना तिरेको बैंक भौचर महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई बुझाएका छन् ।

‘हामी सुशासन मान्छौं र विधिको शासन मान्छौ राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्,’ उनले भने, ‘महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं,’ शाहीले भने ।