१० वर्षपछि वैदेशिक रोजगारीमा जानै नपर्ने अवस्था सिर्जना हुन्छ: युवराज खतिवडा

0
Shares

काठमाडौं । पूर्वअर्थ मन्त्रीसमेत रहेा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले आगामी दशकभित्र कोही पनि बाध्यात्मक रूपमा वैदेशिक रोजगारीमा जानु नपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१ मा बोल्दै खतिवडाले आगामी दशकलाई ‘रोजगार दशक’का रूपमा मनाउने लक्ष्य रहेको बताए ।

खतिवडा देशभित्रै पर्याप्त रोजगारी सिर्जना गर्न केही महत्वपूर्ण शर्तहरू पूरा गर्नुपर्ने बताउँछन् । ‘आर्थिक वृद्धिदरलाई निरन्तर ६ प्रतिशतभन्दा माथि राख्नुपर्छ, वित्तीय स्रोत तथा साधनलाई रोजगारी सिर्जनातर्फ केन्द्रित गर्नुपर्छ ।’

उनले निजी क्षेत्रले रोजगारीका अवसरहरू सिर्जना गर्ने र सरकारद्वारा सहुलियत तथा प्रोत्साहन नीति अवलम्बन गरेमा यो सम्भव हुने बताए ।
नेपाल विकासशील मुलुककै अवस्थामा रहँदा जनसंख्या वृद्धिसँगै बुढ्यौलीको समस्या जटिल बन्ने उनले चेतावनी दिए ।

‘विकसित मुलुकहरूमा बुढ्यौली जनसंख्या वृद्धि हुँदा देश पहिल्यै समृद्ध भइसकेको हुन्छ, तर नेपालमा विकासशील मुलुकमै रहँदा वृद्ध जनसंख्या हाबी हुने जोखिम छ,’ उनले भने ।

नेपालमा हाल कुल जनसंख्याको ६५.२ प्रतिशत आर्थिक रूपमा सक्रिय रहेको र जसको संख्या २ करोडभन्दा बढी रहेको उनले बताए । ‘यही जनसंख्याले अर्थतन्त्रलाई बलियो बनाउन सके मात्र भविष्यमा वृद्ध जनसंख्यालाई टिकाइराख्ने वातावरण बन्छ,’ खतिवडाले भने ।