
काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला बनाउने भनेर उठाएको रकम अनियमितता गरेको आरोपबाट सफाइ पाएका छन् । रंगशाला निर्माणका क्रममा रकम अनियमितता गरेको भन्दै परेको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सफाई दिएको हो ।
अख्तियारमा क्रिकेट रंगशाला निर्माणका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट उठेको रकम दुरुपयोग गरेको आरोप लागाउँदै फाउन्डेसनविरुद्ध उजुरी परेको थियो । उक्त उजुरी विपरित धुर्मुस–सुन्तली फाउन्डेसनले सहयोग रकम प्रकृयागत रुपमा नै खर्च गरेको अख्तियारको ठहर छ ।
धुर्मुस सुन्तलीविरुद्ध चितवन क्रिकेट संघका तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले २०७८ माघमा अख्तियारमा उजुरी हालेका थिए । भरतपुर महानगर स्रोतका अनुसार मुद्दालाई तामेलीमा राखिएको पत्र प्राप्त भएको छ । तामेलीमा राखिएको पत्रमा थप प्रमाण फेला परेमा कानुन बमोजिम हुने स्रोतको भनाइ छ ।
अख्तियारले ३ वर्ष लगाएर अनुसन्धान गर्दा पनि सरकारी तथा गैरसरकारी सहयोग दुरुपयोग भएको प्रमाण नभेटिएको पाइएको हो ।
फाउन्डेसनले महानगरलाई रंगशाला हस्तान्तरण गर्दा ६३ लाख रुपैयाँ खर्च भएको बताएको थियो । त्यस्तै ३८ लाख रुपैयाँ सरकारी तथा गैरसरकारी सस्थासँगै जनस्तरबाट सहयोग उठेको फाउन्डेसनले अडिट रिपोर्टमा उल्लेख छ । धुर्मुसले रंगशाला निर्माणका क्रममा १८ करोड ऋण लागेको भन्दै सरकारसँग तिरिदिन आग्रह गर्दै आएका छन् ।
प्रतिक्रिया