यी ४ स्थानमा उम्मेद्वारहरुबीच रोचक भिडन्त, कसले मार्ला बाजी ?



काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन भएको १६५ स्थानमध्ये हालसम्म १४९ स्थानको निर्वाचन परिणाम आईसकेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

बाँकी स्थानहरुमा भने अझैपनि मत गणना भईरहेको छ । जसमध्ये केहि स्थानमा उम्मेद्वारहरुबिच निकै कम संख्यामा मतान्तर रहेको छ । विशेषगरि सुनसरी, सर्लाही र कन्चनपुर जिल्लाका केहि निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा रहेको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर ३ मा भगवती चौधरी र विजयकुमार गच्छदारबीच निकै प्रतिस्पर्धा हुँदै आएकोमा उनीहरुबीचको मतान्तर पनि कम हुँदै गएको देखिन्छ । वाम गठबन्धनको तर्फबाट उम्मेद्वार भएकी भगवती चौधरीले हालसम्म २९ हजार ३ सय २६ मत हासिल गरेकि छन भने लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेद्वार भएका गच्छदारले २९ हजार १ सय ७१ मत हासिल गरेका छन् । उनीहरुबीच केबल १५५ मत संख्याको फरक रहेको छ ।

त्यस्तै सर्लाहीको क्षेत्र नम्बर १ मा वाम गठबन्धनको तर्फबाट नेकपा एमालेका उम्मेद्वार ध्रुव प्रसाद गौतम र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का प्रमेद साहबीच तिब्र प्रतिस्पर्धा रहेको छ । गौतमले १९ हजार ७ सय ३३ मत हासिल गरेका छन भने साहले हालसम्म १९ हजार ६ सय ६५ मत हासिल गरेका छन् । यी दुबैबीच केवल ६८ मतको फरक रहेको देखिन्छ ।

सर्लाहीकै अर्को क्षेत्र नम्बर ४ मा राजपाका राकेश कुमार मिश्र र नेपाली कांग्रेसका अमरेश कुमार सिंहबीच कडा प्रतिस्पर्धा रहेको छ । सो क्षेत्रमा राजपाका मिश्रले हालसम्म १६ हजार ३ सय १८ मत हासिल गरेका छन भने काँग्रेसका सिंहले १५ हजार ९ सय ३६ मत हासिल गरेका छन् । यी दुई बीचको अन्तर ३ सय ८२ रहेको छ ।

कन्चनपुर जिल्लाको क्षेत्र नम्बर ३ मा पनि नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेद्वारहरुबीच कडा प्रतिस्पर्धा भईरहेको छ । नेकपा एमालेका दीपक प्रकाश भट्टले हालसम्म २१ हजार ९ सय ७५ मत प्राप्त गरेका छन भने काँग्रेसका रमेश लेखकले २१ हजार ९ सय २८ मत हासिल गरेका छन् । उनीहरुबीच केबल ४७ मतको फरक रहेको देखिन्छ ।

तीन वटै जिल्लाहरुमा मत गणनाको क्रम जारी रहेको र अन्तिम चरणमा पुगेको निर्वाचन आयोगको भनाई छ। यी क्षेत्रहरुबाट कसले बाजी मार्ने हो त्यो हेर्न भने केहि समय कुर्नुनै पर्ने हुन्छ ।


क्लिकमान्डु