५३ देशबाट ७ महिनामा १९ अर्ब मूल्यका १२ लाख स्मार्टफोन भित्रियो

182
Shares

काठमाडौं । पछिल्लो सात महिनामा नेपालमा करिब १९ अर्ब रुपैयाँ भन्सार मूल्यका १२ लाख २९ हजार स्मार्टफोन सेट नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिना (साउन–माघ)सम्ममा १८ अर्ब ९८ करोड रुपैयाँका यी मोबाइल भित्रिँदा संकलन भएको भन्सार शुल्क ३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

विभागको तथ्यांकअनुसार नेपालमा भित्रिएको यस्तो मोबाइल सेट गत वर्ष फागुनसम्मको तुलनामा १ लाख २६ हजारले बढी हो । गत वर्ष २०८० को साउनदेखि माघसम्ममा भित्रिएका स्मार्ट फोन १० लाख ५ हजार सेट रहेको तथ्यांकले देखाएको छ । यस्तो तथ्यांक अनुसार नेपालमा गत वर्षको मागमा १७ अर्ब ३८ करोड रुपैयाँका स्मार्टफोन आयात भएको देखिएको छ । यस्तो मोबाइल आयातको रकम गत वर्षको तुलनामा यो वर्ष १ अर्ब ६० करोड रुपैयाँले बढी हो ।

मोबाइल व्यवसायी पुरुषोत्तम बस्नेतका अनुसार नेपालमा पछिल्लो समय स्मार्ट फोन आयात बढेसँगै प्रयोगकर्ता पनि बढेका छन् । उनले भने ‘प्रविधिसँग घुलमिल हुन चाहने नयाँ पुस्ता, कन्टेन्ट क्रियटरदेखि एआई सर्पोट गर्ने सेटसम्मको माग उत्तिकै बढेको छ ।’

एउटा मोबाइल केही समय प्रयोग गरेपछि नयाँ चलाउन खोज्ने, मोबाइलबाटै लाभ लिनेहरुको जमात बढ्दै गएकोले पनि यसको प्रयोग बढ्दा स्मार्टफोन आयात मासिक तथ्यांकमा उकालो लाग्दै गएको देखिएको बस्नेतले बताए । उनका अनुसार एउटा रेन्जको प्रयोग गरिरहेकाहरु माथिल्लो रेन्जमा जाने, चलाइरहेकोभन्दा बढी मूल्य र क्षमताका मोबाइल प्रयोग गर्ने जमातको कारण पनि हरेक महिना मोबाइलको बिक्री बढिरहेको हो ।

बजारमा हाल २० देखि ३० हजार रुपैयाँको मोबाइल प्रयोगकर्ताको हिस्सा सबैभन्दा बढी छ । आयात हुने मोबाइलमा सस्तोदेखि महंगासम्म आउने भए पनि प्रयोगकर्ताको रुची जेमा बढी छ सोही प्रकृतिको मोबाइल मगाउने गरिएको मोबाइल व्यवसायी बताउँछन् ।

भन्सार विभागको तथ्यांकअनुसार २०७८ माघमा नेपालमा सबैभन्दा बढी मोबाइल आयात भएको देखिएको छ । उक्त वर्षको साउदेखि माघसम्ममा भित्रिएको २८ अर्ब ३८ करोड रुपैयाँ भन्सार मूल्य बराबरका मोबाइल आायत पछिल्लो पाँच वर्षकै धेरै हो । त्यसपछिको वर्ष २०७९ को साउनदेखि माघसम्ममा १४ अर्ब ७६ करोड र २०७७ मा १२ अर्ब ६० करोड रुपैयाँ भन्सार मूल्यका मोबाइल सेट आयात भएको थियो ।

पछिल्लो समय सामान्य बारफोन आयात कम हुने र स्मार्टफोन अधिक आउने गरेका कारण संख्या कम हुँदा पनि मूल्य भने धेरै हुन थालेको छ। ५ वर्ष अगाडिसम्म साउदेखि माघसम्मको ७ महिनामा २६ लाख वटा सेट भित्रिँदा यसको भन्सार मूल्य भने १२ अर्ब ६० करोड रुपैयाँ मात्रै रहेको देखिएको छ ।

५३ मुलुकबाट भित्रियो नेपालमा स्मार्टफोन

नेपालमा विभिन्न ५३ वटा मुलुकबाट स्मार्टफोन भित्रिएको छ । नेपाल भित्रिएको यस्ता स्मार्टफोनमा सबैभन्दा ठूलो हिस्सा चिनियाँको छ । चीनबाट पछिल्लो ७ महिनामा नै १२ अर्ब ९९ करोड रुपैयाँ भन्सार मूल्यका ९ लाख ५३ हजार वटा मोबाइल भित्रिएको छ ।

चीनपछि धेरै मोबाइल भित्रने मुलुको सूचीमा भारत छ । भारतबाट ५ अर्ब ६२ करोड रुपैयाँको २ लाख ७२ हजार वटा मोबाइल आयात भएको पनि तथ्यांक छ । अमेरिकाबाट आउने मोबाइल नेपाल भित्रने सूची आयात मूल्यका हिसाबले तेस्रो नम्बरमा छ । यो वर्ष अमेरिकाबाट साउदेखि माघसम्ममा भित्रिएको मोबाइल १० करोड रुपैयाँका ८२३ वटा छन् ।

मोबाइल भित्रने संख्याका हिसाबले भारतपछि भियतनामबाट १०२७ वटा, जापानबाट ६९७ वटा, युनाइटेड अरब इमिरेट्सबाट ५५५ वटा मोबाइल आयात भएको छ । यसबाहेक एक सय वटाभन्दा कम सख्ंयामा मोबाइल आउने देशको सूची भने ४२ वटा रहेका छन् । यसमध्ये १६ वटा मुलुकबाट एक/एकवटा आएको छ भने सातवटा मुलुकबाट २/२वटा आएको देखिएको छ । एउटा दुईवटा मोबाइल भित्रनुमा सम्बन्धित देशबाट नेपाल आएका नेपालीले एकभन्दा बढी बोक्दा लागेको भन्सार तथ्यांकमा देखिएको पनि भन्सार विभागको भनाइ छ । विभागका अनुसार सोही कारण एउटा २ वटा मोबाइल पनि आएको देखिएको हो ।