बैंकिङ क्षेत्रको नगद र नगदजन्य कारोबारको बिमा गर्न छुट्टै निर्देशिका

238
Shares

काठमाडौं । नेपाल बिमा प्राधिकरणले बैंक तथा वित्तीय संस्थासहित नगद कारोबार गर्ने संस्थाको परिसरमा हुनेसक्ने  जोखिमको बिमा छुट्टै निर्देशन जारी गरेको छ । प्राधिकरणले नगद तथा नगदजन्य उपकरणका ओसरापसामा हुने जोखिमको बिमा गर्न मौद्रिक क्षति सम्बन्धी निर्देशन २०८१ जारी गरेको हो । 

‘बैंक, वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रकृयामा रहेको नगद तथा नगदजन्य उपकरण सुरक्षणको रक्षावरण गर्ने बिमालाई व्यवस्थित गर्न आवश्यक देखियो,’ बिमा प्राधिकरण जारी गरेको निर्देशनमा भनिएको छ । 

वित्तीय संस्थामा संस्थाको धितोबन्धकमा राखिएका नगद तथा नगदजन्य उपकरण सुरक्षणमा आइपर्न सक्ने जोखिमहरु बिमालाई व्यवस्थित गर्न आवश्यक भएकोले उक्त निर्देशन जारी गरेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले  उक्त निर्देशन अनुसारको बिमालेखको बिमाशुल्क समेत तोकेको छ। बैंकर क्षतिपूर्ति बिमालेखमा आधारभूत बिमांकको बिमाशुल्क एकमुष्ठ २.७५ प्रतिशत तोकेको छ ।

यस्तै अतिरिक्त बिमांकको बिमाशुल १ प्रतिशत प्रति रक्षावरण लाग्ने निर्देशनमा उल्लेख छ । निष्ठा जमानी वापतको बिमाशुल्क प्रतिकर्मचारी १० रुपैयाँ, हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकबाद सम्बन्धी जोखिम समूहको बिमाशुल्क ०.६५ प्रतिशत र प्रचलित सम्पत्ति बिमा बमोजिमका जोखिमथप गरे वापतको बिमाशुल्क: ०.१५ प्रतिशत लाग्ने निर्देशनमा उल्लेख छ । 

यस्तै नगद बिमालेखमा काउन्टरमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षणको बिमाशुल्क प्रति हजार २ रुपैयाँ लाग्नेछ । सेफ/भल्टमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षणको बिमाशुल्क पनि प्रति हजार २ रुपैयाँ लाग्नेछ । बिमा अवधिभित्र एक पटकमा गरीने अधिकतम मार्गस्थ नगद तथा नगदजन्य उपकरण र सुरक्षण रकममा १.५ प्रतिशत बिमाशुल्क लाग्ने निर्देशनमा उल्लेखछ । नगद बाहेकका अन्य नगदजन्य उपकरणको बिमाशुल्क प्रतिहजार २ रुपैयाँ लाग्नेछ ।

हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकबाद सम्बन्धी जोखिम समूहको बिमाशुल्क प्रतिहजार १ रुपैयाँ २५ पैसा लाग्नेछ।प्रचलित सम्पत्ति बिमा अनुसारका जोखिम थप गरे वापतको बिमाशुल्क प्रतिहजार १ रुपैयाँ ५० पैसा नै लाग्नेछ । 

निष्ठा जमानी बिमातर्फ जोखिममा रहेको बिमांक रकमको बीमाशुल्क प्रतिहजार ५ रुपैयाँ लाग्नेछ । बिमामा समावेश भएका कर्मचारीहरुको बिमाशुल्क प्रतिकर्मचारी १०० रुपैयाँ लाग्ने निर्देशनमा उल्लेख छ ।