
काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले संसदलाई नजरअन्दाज गरेर अध्यादेश ल्याउनु गलत भएको बताएका छन् । उनले तत्कालीक आवश्यकताको परिपूर्तिका लागि अध्यादेश ल्याउने गरेपनि संसद शुरु हुनु भन्दा केही दिनमात्रै अगाडि अध्यादेश ल्याउनुले संसदलाई नजरअन्दाज गरेको महसुस हुने बताए ।
उनले आर्थिक विकास र सुशासनका लागि अध्यादेश ल्याएने कुरा सरकारका माथिल्लो तहका व्यक्तिहरले भन्ने गरेको भन्दै आपत्ति जनाए । यो अभिव्यक्ति जिम्मेवारी अनुकुलको नभएको उनको दाबी छ ।
‘संसदले बनाउने कानूनले सुशासन, आर्थिक विकासको बाटोमा कुनै व्यवधान खडा गरेको छ ?’ भन्दै उनले प्रश्न पनि गरे । संसदबाट कानून बनाउँदा आर्थिक विकास र सुशासन नहुने र अध्यादेशबाट मात्रै प्रगति हुनसक्ने कुरा सम्भव नरहेको बताए । प्रजातन्त्रमा संसदलाई बाइपास गरेर, संसदलाई नजरअन्दाज गरेर, संसदलाई अवमूल्यन गरेर कुनैपनि शासन अगाडि बढ्न नसक्ने जिकिर गरे ।
सांसद साउदले सामाजिक सञ्जालका नाममा जसले जे लेखेपनि हुने, जे गरेपनि हुने प्रवृत्ति आउनु दुःखद् भएको बताए । सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी रहेको तर नियमन गर्दा सामाजिक सञ्जालको कार्यालय राखेर नियमन सुरु गर्नुपर्ने बताए । समाजको अभिव्यक्तिको स्वतन्त्रतालाई बन्देज लगाउनु नहुने पनि जिकिर गरे ।
प्रतिक्रिया