इण्डोनेशियाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश



काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इण्डोनेशियाका राजदूत रिना प्रित्यासमियर्सी सोमार्नोले मंसिर १९ गते आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकि छिन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित एक विशेष समारोहमा राजदूत सोमार्नोले ओहोदाको प्रमाणपत्र पेश गरेकि हुन् । महामहिम सोमार्नो नेपालका लागि इण्डोनेशियाको गैरआवासीय राजदूत हुन र राजदुतावासको कार्यालय बंगालादेशको ढाकामा अवस्थित छ ।

सो समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री, राष्ट्रपतिको कार्यालयका परराष्ट्र मामिला विशेषज्ञ मदनकुमार भट्टराई, सोही कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, इण्डोनेसियाका लागि नेपालका अवैतनिक वाणिज्यदूत, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका साथै राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

इण्डोनेसियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्रप्रसाद ढकालले सोहि अवसरमा साँझ आयोजना गरेको स्वागत समारोहमा नेपालका लागि इण्डोनेशियाका राजदूत सोमार्नोले नेपालसँगको सम्बन्धलाई आफ्नो मुलुकले उच्च प्राथमिकतामा राखेको बताइन् ।

सोही कार्यक्रममा बोल्दै अवैतनिक वाणिज्यदूत ढकालले द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि आफू लागिपरेको बताउँदै दुई मुलुकबीचको जनस्तरको सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतको कार्यालयबाट हरसम्भव प्रयास भइरहेको जानकारी दिए ।


क्लिकमान्डु