काठमाडौं । चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध अदालतमा दायर मुद्दाबारे छानबिन गर्न समिति गठन भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनका प्रमुख तथा न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिनका लागि समिति गठन भएको हो ।
समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल र महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेका छन् ।
समितिले सहकारी संस्था ठगी अभियोजन कसरी दायर भयो भन्ने विषयमा सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको छ ।
चितवनका न्यायाधिवक्ताको सरुवा
मंगलबार लामिछाने लगायतविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । तर, लामिछानेमाथि संगठित अपराधको मुद्दा नचलाइ ठगीको मात्र अभियोजना लगाइएयो । जसका कारण चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरिएको छ ।
उनलाई महान्यायाधिवक्ताको कार्यालयमा तानिएको छ । लुइँटेलको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपानेलाई चितवन पठाइएको छ ।
सरकारी वकिलको कार्यालय चितवनले साहारा चितवन सहकारी प्रकरणमा ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको छ । जसमध्ये १२ जनामाथि संगठित अपराध र ठगीको मुद्दा चलाइएको छ भने बाँकीमाथि ठगीको मुद्दामात्रै दर्ता गरिएको छ ।
गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनाविरुद्ध दुबै मुद्दा चलाइएको भए पनि तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथि ठगीको मुद्दामात्रै दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले लामिछानेमाथि समेत संगठित अपराध र ठगी दुबै मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाए पनि सरकारी वकिलको कार्यालयले संगठित अपराधमा रविको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै मुद्दा दायर गरेन ।
अदालतमा पेस भएको अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्क स्थापनाका लागि ‘सिडमनी’का रूपमा साहारा सहकारीबाट एक करोड रुपैयाँ लगेको उल्लेख छ । योसहित उक्त सहकारीबाट ठगी गरी गोर्खा मिडियामा १० करोड ८० लाख १८ हजार लगिएको दाबी छ । यस्तै लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडियाका ८१४ चेकमार्फत विभिन्न ठाउँमा ४८ करोड ५८ लाख २२ हजार भुक्तानी गरेको अभियोगमा उल्लेख छ ।
रविले सहकारीबाट गोर्खा मिडियामा आएको रकम अरूलाई दिनुका साथै आफूले समेत तलबबाहेक २७ लाख लिएको अभियोपत्रमा उल्लेख गरिएको छ । श्रीमती निकिता पौडेललाई ५९ लाख ३८ हजार र गोपीकृष्ण मुभिजलाई ८१ लाख २५ हजार भुक्तानी दिएको देखिएको जनाइएको छ ।
चितवनको साहारा सहकारीमा ६ हजार ३ सय ३४ बचतकर्ता छन् । गत वर्ष उजुरी दिएका ४ सय ४६ पीडित बचतकर्ताको उजुरीका आधारमा अनुसन्धान भएर गत असोजमा मुद्दा दायर हुँदा उजुरीकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ भराउनुपर्ने देखिएको थियो । पूरक जाहेरी दिने थप बचतकर्ताले ४३ लाख ९४ हजार ६ सय ३१ रुपैयाँ फिर्ता पाउन माग गरेका छन् ।
लामिछानेविरुद्ध यसअघि कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा मुद्दा परेको थियो । ति अदालतबाट उनी धरौटीमा रिहा भएका थिए।
लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै उनी आज अदालतमा उपस्थित भएका छन् । उनको मुद्दा जिल्ला न्यायाधीश दयारा ढकालको इजलासमा सुनुवाइ भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।
प्रतिक्रिया