रवि लामिछानेले सभामुख घिमिरेलाई किन भेटे ?

245
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार मध्याह्न सिंहदरबार पुगेर लामिछानेले सभामुख घिमिरेलाई भेटे गरेका हुन् । उनीसँग रास्वपाका सांसदहरू पनि सहभागी थिए ।

लामिछानेले भेटमा आफ्नो सांसद पद निलम्बनबारे सभामुखको ध्यानाकर्षण गराए ।

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वत: निलम्बनमा परेको थियो । तर रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने बताउँदै आएको छ ।

सहकारी ठगी मुद्दामा लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख, जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाडेको थियो ।

आजदेखि संसद हिँउदे अधिवेशन सुरु हुनै लाग्दा लामिछानेले सभामुखलाई भेटेका हुन् ।