एजेन्सी । अमेरिकाको वाशिंगटन डिसीमा अमेरिकन एयरलाइन्सको एक विमान आकाशमै एक हेलिकप्टरसँग ठोक्किएको छ ।
फेडरल एभिएशन एडमिनिस्ट्रेशनले दिएको जानकारी अनुसार स्थानीय समयअनुसार राति ९ बजे रीगन वाशिंगटन नेशनल एयरपोर्ट नजिकै यात्रुवाहक विमान र अमेरिकी सेनाको हेलिकप्टर ठोकिएका हुन् ।
हेलिकप्टरसँग ठोकिएपछि विमान र हेलि पोटोम्याक नदीमा खसेको थियो । रीगन एयरपोर्टले सोशल मिडिया प्लेटफर्म एक्समा लेखे अनुसार दुर्घटनापछि सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् ।
अमेरिकन एयरलाइन्सले विमानमा ६० यात्री र ४ क्रू सदस्य सवार भएको र हेलिकप्टरमा तीन जना रहेको पुष्टि गरेको सीएनएनले जनाएको छ । एयरलाइन्सले भनेको छ, ‘हामी सबैका लागि चिन्तित छौं । हामी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं र आपातकालीन टोलीलाई सहयोग गरिरहेका छौं ।’
पीएसए एयरलाइन्सद्वारा सञ्चालित अमेरिकन एयरलाइन्स फ्लाइट ५३४२ विमान विचिटा क्यान्ससबाट रेगन राष्ट्रिय विमानस्थलतर्फ गइरहेको थियो । त्यही समयमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर तालिम उडानमा रहेको थियो ।
वाशिंगटन डिसीको आपातकालीन बचाउ समूह रीगन नेशनल एयरपोर्टमा पुगेको छ । त्यहाँ धेरै एम्बुलेन्स र अग्निनियन्त्रक ट्रकहरू रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
डिसी फायर एण्ड ईएमएस विभागले विमान हेलिकप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको र फायरबोटले नदीमा खोजी अभियान जारी राखेको जनाएको छ ।
अमेरिकी प्रहरी अधिकारीहरुले बीबीसीलाई बताए अनुसार खोजी टोलीले १८ शव फेला परेका छन् ।
फेडरल एविएशन एडमिनिस्ट्रेशनले भनेको छ, ‘एक पिएसए एयरलाइन्स बोम्बार्डियर सिआरजे ७०० क्षेत्रीय जेट रीगन वाशिंगटन नेशनल एयरपोर्टमा रनवे ३३ नजिकै जाँदा सिकोर्स्की एच-६० हेलिकप्टरसँग ठोक्किएको छ । यो घटना स्थानीय समय अनुसार लगभग ९ बजे भएको हो।’
एफएए र नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले यस घटनाको जाँच गर्नेछन् र एनटीएसबीले जाँचको नेतृत्व गर्ने जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनामा दुख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘मलाई रीगन नेशनल एयरपोर्टमा भएको भयानक दुर्घटनाको बारेमा पूर्ण जानकारी दिइएको छ । भगवानले मृतकहरूको आत्मालाई शान्ति दिनुहोस् । बचावकर्मीहरूलाई धन्यवाद । म स्थिति मोनिटर गरिरहेको छु र थप जानकारी प्राप्त भएमा सबैलाई जानकारी दिनेछु।’
दुर्घटनासँगै रीगन नेशनल एयरपोर्ट स्थानीय समय अनुसार शुक्रबार बिहान ५ बजेसम्म बन्द गरिएको छ ।
एफएए र रक्षा अधिकारीहरूका अनुसार विमान एयरपोर्टको रनवेमा उत्रने क्रममा हेलिकप्टरसँग ठोक्किएको हो ।
लाइभएटीसी डट नेटबाट प्राप्त एयर ट्राफिक कन्ट्रोलको अडिओअनुसार, एयर ट्राफिक कन्ट्रोलरहरूले हेलिकप्टरलाई सोधेका थिए, ‘पीएटी २-५ के तिमी सीआरजे विमान देख्न सक्छौ ?’ त्यसपछि कन्ट्रोलरले निर्देशन दिए, ‘पीएटी २-५ सीआरजेको पछाडि जाऊ।’
यसपछि आकस्मिक रूपमा ठक्कर भएको आवाज र टावरमा रहेका कन्ट्रोलरहरूको अचम्मित प्रतिक्रिया सुन्न सकिन्छ । जसमा ‘ओsssओ’ भन्ने ठूलो आवाज सुनिएको सीएनएनले जनाएको छ ।
दुर्घटना भएपछि टावरले अन्य पाइलटहरूलाई तुरुन्तै जानकारी गराएका थिए । एयर ट्राफिक कन्ट्रोलरले भने, ‘मलाई थाहा छैन तपाईंले के भयो भनेर बुझ्नुभयो कि होइन, तर रनवे ३३ को अप्रोच अन्त्यमा ठक्कर भएको छ । हामी हाललाई सबै सञ्चालन बन्द गर्दैछौं । तपाईं गेटमा फर्कन चाहनुहुन्छ भने, कम्पनीसँग समन्वय गर्न सिफारिस गर्छु । के गर्ने भन्ने निर्णय गर्नुहोस् र मलाई जानकारी दिनुहोस् ।’
एक अन्य पाइलटले पनि दुर्घटनालाई प्रत्यक्ष देखेको पुष्टि गरको सीनएनले जनाएको छ । उनले भने, ‘हो, हामी सर्ट फाइनलमा थियौं, र पोतोम्याकको विपरीत दिशाबाट फ्लेयरहरू देख्यौं ।’
प्रतिक्रिया