भारतीयले नेपाल आउँदा २५ हजार मात्र बोक्न पाइने हो ?

नेपालमा १ सय दरका भारु मात्र वैध हुँदा भारतीय पर्यटकलाई समस्या


भैरहवा (रुपन्देही) । भारतीयहरु नेपाल छिर्दा २५ हजार रुपैयाँ मात्र लिएर आउने पाइने अफवाहका कारण भारतीय पर्यटक मात्र होन पर्यटन व्यवसायीहरुलाई पनि नराम्ररी छोएको छ ।

भैरहवा तथा यस आसपासमा राजनीतिक दलका नेताहरु मात्र होइन मन्त्रीहरु आउँदा पनि २५ हजार भारतीय रुपैयाँको प्रतिवन्ध हटाउन पर्यटन व्यवसायीहरुले आवाज उठाउँदै आएका छन् । यो मुद्दाले संसद पनि तताएको थियो । २५ हजार रुपैयाँको कानून संशोधनको माग गर्न संसदबाटै माग गरेका थिए ।

नेपालले पर्यटकमैत्री देश बनाउने हो भने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने हो भने तत्काल सो व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको पर्यटन व्यवसायीहरुले बताउँदै आएका थिए । नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति उक्त सीमा उपयुक्त होइन।

अहिले पनि विभिन्न स्थानमा २५ हजार भारतीय रुपैयाँको सीमा हटाउनु पर्ने माग हुँदै आएको छ । तर नेपाल राष्ट्र बैंकले भने नेपालमा यस्तो बाध्यात्मक कानून नरहेको स्पष्ट पारेको छ ।

नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका सूचना अधिकारी जीवन प्रकाश पाण्डेले नेपालमा २५ हजार भारतीय रुपैयाँ भन्दा बढी रकम ल्याउन नपाइने कतै उल्लेख नभएको बताए ।

पाण्डेले २०७५ साउन १ गतेदेखि सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा २९(क) को उद्घोषण गर्नुपर्ने सम्बन्धी व्यवस्थाका सन्दर्भमा कसैले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाक वा अन्य माध्यममार्फत नेपाली रुपैयाँ ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा वा सो बराबरको धारक विनिमय अधिकार पत्र नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने गरी सीमा तोकिएको जानकारी दिए ।

भारतीयहरु नेपाल भ्रमणका लागि मात्र नभई सीमावर्ती नेपाली बजारमा ठूलो परिणाममा क्यासिनो खेल्न आउने गरेका छन् । भारतीयहरुलाई नै लक्षित गरि भैरहवामा पनि आधा दर्जन बढी क्यासिनोहरु सञ्चालनमा रहेका छन् ।

क्यासिनो खेल्न आउने भारतीयहरुलाई प्रहरीले यहि २५ हजारको त्रास देखाउने गरेको पर्यटन व्यवसायी तथा होटल व्यवसायीहरुको आरोप छ । राष्ट्र बैंकको यो स्पष्टोक्तिले उनीहरुलाई पनि अब राहत मिलेको छ ।

भारत सरकारले नोटबन्दी गर्दा नेपाल सरकार र भारत सरकारको संयुक्त पहलमा भारतमा काम गर्ने नेपालीले २५ हजार रुपैयाँसम्म सटही गर्न सक्ने व्यवस्था गरेको थियो । तत्कालीन समयमा भारतमा काम गर्ने नेपाली कामदारहरुको सहजताको लागि भारतीय ५ सय र एक हजारका नोटहरु पनि सटही गरिएको थियो । पछि नेपाल राष्ट्र बैंकमा जम्मा भएका र भारत सरकारले बन्द गरेका पाँच सय र एक हजार दरका भारतीय नोट नेपाल राष्ट्र बैंकले सटही गर्न पठाउँदा भारतले सो नोटहरु साटेको थिएन । र यो व्यवस्थालाई सरकारले खारेज गरेको थियो ।

नोटबन्दीकै बेला तोकिएको २५ हजार भारुको अल्पकालीन व्यवस्था अहिलेसम्म लागु भइरहेको थियो ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले पर्यटकहरुलाई यस्ता साना तिना कुराहरुमा दु:ख नदिनु भनेर निर्देशन गरिएको बताए ।

५ हजार डलर बराबरको भारतीय मुद्रा ल्याउने पाइए पनि नेपालमा भने १ सय रुपैयाँ भन्दा बढीको मुद्रा प्रतिबन्धित रहेको छ । भारतमा अहिले २ सय, ५ सय र २ हजारका नोट चलन चल्तीमा रहेको छ । नेपालमा भने एक सय रुपैयाँ दरका मात्र नोटहरु बोक्न पाइने कानूनी प्रावधान रहेको छ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले यो व्यवस्थाले पनि भारतीय पर्यटकले सास्ती पाएको बताए ।

अहिले भारतीय मुद्रा २५ हजारको सीमा नरहेको जानकारी भए पनि सानो दरका मुद्रा ल्याउँदा त्यसले असहजता ल्याउने र बोक्न पनि गाह्रो हुने गरेको बताए ।

अहिले भ्रमण र क्यासिनो खेल्न मात्र नभई डेस्टिनेशन वेडिङका लागि पनि नेपाली भारतीयहरुको प्रमुख रोजाइको केन्द्र बनेको छ । यस्तो अवस्थामा उनीहरुलाई पर्याप्त सुविधा दिई खर्च गर्न दिन सक्ने बाटो खोलिदिए यसले नेपालको पर्यटनको विकाससँगै अर्थतन्त्र सुधारमा महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरु बताउँछन् ।