![](https://clickmandu.com/wp-content/uploads/2025/01/kp-oli-768x409.jpg)
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए ।
‘देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाति पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ’ उनले भने ।
प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गरे ।
‘अब १७/१८ महिनापछि शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ । उहाँले चलाउनुहुन्छ । मैले सहयोग गर्छु । नेकपा एमालले पूराका पूरा सहयोग गर्छ । सफल बनाउँछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले नेपाली कांग्रेसबाट साथ पाएको छु । कुनै रिजर्भेसनबिना पूराका पूरा साथ पाएको छु । भोलि नेपाली कांग्रेसले हामीबाट पूराका पूरा साथ पाउँछ ।’
उनले संसदको हिउँधे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गरे।
प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भने, ‘मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसियुकक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।’
प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।
प्रतिक्रिया