मैले हाच्छयूँ गर्दा आईसीयूमा अक्सिजन मास्क लगाएको फोटो आइहाल्छ, त्यो पुग्नेवाला छैन: ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य स्वास्थ्य समस्या भए पनि आईसीयुको र भेन्टिलेटरमा राखेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाइएको भन्दै असन्तुष्टी जनाएका छन्।

सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले हाच्छ्यूँ गर्दा भेन्टिलेटर र आइसीयुको फोटो सामाजिक सञ्जालमा आएको बताएका हुन् ।

आफूलाई रुघाखोकी लागेकाले सामान्य कमजोर बनाएको उनले बताए ।

‘मेरो स्वास्थ्य राम्रो छैन । रुघाखोकीले सतायो । तर, मैले हाच्छ्यूँ गरेँ भने आईसीयूको, भेन्टिलेटर लगाएको, अक्सिजनको मास्क लगाएको फोटो आइहाल्छ, तपाईंले पनि देख्नुभयो होला,’ ओलीले भने, ‘मलाई रुघा लागेको थियो, अहिले पनि राम्ररी निको भइसकेको छैन । औषधि खाँदा कमजोर बनाएको छ, जे आशले साथीहरूले त्यस्तो फोटो देखाउँछन् त्यो पुग्नेवाला छैन ।’

केही दिनयता सार्वजनिक कार्यक्रमहरुमा सहभागी नभएका ओलीको स्वास्थ्य गम्भीर रहेको भन्दै सामाजिक सञ्जालमा तस्बिरहरु सार्वजनिक भएका थिए ।