काठमाडौं । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामामाथि भएको रड आक्रमणमा संलग्न भएको आरोपमा दुई फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको ककनीका ३३ वर्षीय अजय लामा र गोरखाका दीपक बरामु रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार उनीहरूलाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।
कात्तिक ११ मा भएको आक्रमणमा विक्रम लामालाई रड प्रहार गरी निर्घात कुटपिट गरिएको सीसीटिभी फुटेज सार्वजनिक भएको थियो ।
घटनामा संलग्न ७ जनाविरुद्ध ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको छ । यसअघि पक्राउ परेका निश्चल सुनार र शैलेन्द्र तामाङ भनिने मार्शल पुर्पक्षका लागि कारागार चलान भएका छन् भने पदम राई ५० हजार धरौटीमा रिहा भएका थिए । लक्ष्मी राई र रमेश सिलवाल भने अझै फरार छन् ।
आक्रमणमा संलग्न सिजन अधिकारीलाई पनि भारतबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले टीका भण्डारी र सिजन अधिकारीविरुद्ध भने मुद्दा नचल्ने निर्णय गरेको थियो ।
नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका विक्रम लामा आक्रमणमा गम्भीर घाइते भएका थिए ।
प्रतिक्रिया