विराटनगर । महानगरमा अधिकांश रात्रिकालीन व्यवसाय मापदण्ड विपरित सञ्चालन भइरहेको पाइएको छ ।
रात्रिकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले महानगरपालिकाका मेयर नागेश कोइरालालाई बुझाएको प्रतिवेदनमा अधिकांश रात्रिकालीन व्यवसाय मापदण्ड विपरित सञ्चालन भइरहेको उल्लेख छ ।
अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको हो । रात्रिकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टले विकृति सिर्जना गर्नुका साथै ध्वनी प्रदूषण बढेको भन्दै गुनासो आएपछि महानगरले अनुगमन समिति गठन गरेको थियो । समितिले २२ वटा रात्रिकालीन होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदन तयार पारेको हो ।
अनुगमन गरिएका होटल, गीतगजल, दोहोरीसाँझ र रेष्टुरेन्टमध्ये १२ वटाले ध्वनी प्रदूषण गरेको पाइएको छ । १० वटाले पनि ध्वनी प्रदूषण नियन्त्रणका उपायहरु अपनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार १३ वटा रात्रिकालीन व्यवसायले कर्मचारीलाई परिचयपत्रको व्यवस्थापन नगरेको, १८ वटाले पोशाकको व्यवस्थापन नगरेको, १७ वटाले सुरक्षा गार्डको व्यवस्थापन नगरेको, ४ वटाले आवासको व्यवस्थापन नगरेको र अनुगमन गरिएका सवै व्यवसायमा आगलागी नियन्त्रण गर्ने उपकरण नराखेको पाइएको छ ।
अनुगमन गरेका सबैमा सिसी क्यामेरा भने जडान गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार केही सिसी क्यामेरा भने मर्मत गर्नुपर्ने अवस्था देखिएको छ । व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा रहेको पनि देखिएको प्रतिवेदनमा औंल्याइएको छ । अनुगमन गरेका २२ रात्रिकालीन होटल व्यवसायमा ३१९ जनाले प्रत्यक्ष रोजगारी पाएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया