भोट हालेपछि गिरिजाबाबुलाई सम्झिँदै प्रचण्डले भने- आजदेखि अर्को अध्याय शुरु भयो



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजदेखि इतिहासको एउटा अध्यायको समापन र अर्को अध्यायको शुरुवात भएको बताएका छन् ।

जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत प्राथमिक विद्यालय शान्तिपुरको (क) मतदान केन्द्रबाट मतदानपछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले निकै ठूलो संघर्ष र बलिदानपछि यहाँसम्म आइपुगेको बताए ।

अब राजनीतिक यात्राको होइन, विकासको यात्रा शुरु भएको भन्दै उनले यो निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने बताए ।

‘यसले विकास निर्माणको निम्ति राम्रो वातावरण बन्छ र हामी त्यतातर्फ केन्द्रित हुन्छौं,’ उनले भने ।

राजनीतिक स्थायित्वको पहिलो आधार यो निर्वाचन भएको भन्दै उनले नेपालको इतिहासमा धेरै संघर्ष र परिवर्तन हुँदा पनि कहिल्यै पनि सरकार ५ वर्ष टिक्न नसकेको बताए ।

‘दिगो सरकार नहुँदा विकास निर्माणले गति लिन पाएन,’ उनले भने ।

गठबन्धनद्वारा बहुमतको सरकार बन्ने र सबै विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुने उनको भनाइ थियो ।

‘अब जसले भए पनि गठबन्धनले बहुमत ल्याउनुपर्छ, यसपटक वामपन्थीकै बहुमत आउँछ, त्यसमा शंका गर्नुपर्ने छैन,’ प्रचण्डले थपे ।

यो परिवर्तनका निम्ति सबैभन्दा ठूलो विद्रोहको नेतृत्व आफूले गरेको भन्दै शान्ति सम्झौताको नेतृत्व पनि गिरिजाप्रसाद कोइराला र आफूले गरेको बताए ।

सशस्त्र द्वन्द्वपछि आफैँ हुर्केको गाउँबाट मतदान गर्न पाएकोमा निकै खुशी भएको भन्दै उनले भने, ‘एउटा नेतृत्वदायी भूमिका खेलेर आफैँले आफ्नो जिल्लामा मतदान गर्दा यहाँबाट स्थायित्व र समृद्धिको थालनी गर्न पाउँदा खुशी छु ।’

धेरै ठूलो राजनीतिक परिवर्तनपछिको महत्वपूर्ण क्षणमा रहेको भन्दै उनले यो निर्वाचन विगतको निर्वाचनको पुनरावृत्ति नभएको बताए ।

‘यो इतिहासमा पहिलोपटक हुन लागेको निर्वाचन हो, प्रत्येक मतदाताले एउटा उत्सवका रुपमा लिनुपर्छ । संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्षण हो,’ उनले भने ।

यो निर्वाचनसँगै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयन भएको भन्दै संघीयता कार्यान्वयनमा गइसकेको बताए ।
नेपालमा अहिले बनेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन राष्ट्रका लागि शुभसंकेत भएको उनले बताए ।

‘कोही चिन्तित हुनुपर्ने आवश्यकता छैन, दुईवटा गठबन्धन हुँदा जसले राम्रो काम गर्छ, उसले पाँच वर्ष सरकार चलाउँछ,’ उनले भने ।

माओवादी केन्द्र र एमालेबीचमा निर्वाचनपछि पार्टी एकता हुने भन्दै उनले यसबाट कोही चिन्तित हुनु नपर्ने बताए ।

‘यो कसैका विरुद्धमा लक्षित छैन, राष्ट्र र जनताको पक्षमा छ, हामी चाहन्छौँ, काँग्रेसमा पनि पार्टी एकताको नयाँ प्रक्रिया अगाडि बढोस्,’ प्रचण्डले भने ।

उनले बिहान ७ बजेर १३ मिनेट जाँदा मतदान गरेका थिए । ठीक ७ बजे मतदानस्थलमा आउनुभएका दाहाल तयारी पूरा नभएकाले केही बेर मतदानको प्रतिक्षामा बस्नु परेको थियो । यसअघि भरतपुर महानगरपालिका–४ लक्ष्मी मावि केन्द्रबाट मतदान गरेका दाहालले पहिलोपटक आफू हुर्के बढेको ठाउँ भरतपुर–१४ बाट मतदान गरेका हुन् ।

उनले मतदान गरेको चितवन क्षेत्र नं ३ मा दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार छन् ।


पुष्प दुलाल