काठमाडौं । उद्योगी व्यवसायीहरुले भन्सार जाँचपास सम्बन्धि प्रक्रियाहरु थप सहज र झन्झटरहित बनाउन सरकारलाई सुझाव दिएका छन् । व्यवसायीहरुले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएको अनुभुती गरेको भन्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजिकरणबाटै सरकारले राजस्व संकलन गर्न सक्ने उद्योगिहरुले बताए ।
भन्सार दिवसको पूर्व सन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तरक्रिया कार्यक्रममा उक्त धारणा आएको हो । उद्योगी व्यवसायीहरुले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ति वस्तुलाई स्पष्ट गरी भन्सार दरहरुको पुनरावलोकन गर्न सकेउत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने उनिहरुले बताए ।
उक्त कार्यक्रमा अर्थसचिव डा.रामप्रसाद घिमिरेले सरकारले निजि क्षेत्रको लगानीमा सहजिकरण गर्ने गरि नै नीतिगत सुधार गर्दै आइरहेको बताए । भन्सारको प्रमुख उद्देश्य राजश्व संकलन नभई व्यापार सहजिकरण र निर्यात प्रवद्र्धन नै भएको उनले बताए । ‘देशको आर्थिक विकासमा निर्यातको ठूलो भूमिका रहन्छ । हामी हाम्रा उद्योगी व्यसायीहरुलाई कसरी सहजिकरण गर्न सकिन्छ,’ उनले भने, ‘सरकारले नीतिगत सुधार पनि गर्दै आइरहेको छ । पछिल्ला नीतिगत सुधार पनि त्यसैको लागि आएका हुन ।’
उनले नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग रहेकोले भारतसँगको व्यापारमा पनि समस्याहरु आउने गरेको बताए । निकट भविष्यमा हुन लागेको नेपाल भारत ‘कस्टम म्युचुअल एग्रिमेन्ट’ ले ती समस्याहरु समाधान हुने उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भन्सारका सबै गतिविधिहरुले उद्योग व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले स्वस्थ्य व्यवसायिक वातावरण निर्माण गर्ने तर्फ निर्देशित हुन आवश्यक रहेको बताए । ‘नेपालजस्तो आयातमा आधारित अर्थतन्त्र भएको मूलूकको लागि भन्सारले राजस्व मात्र संकलन गरेको हुँदैन, यसले समग्र मुलुकको आपूर्ति श्रृंखलालाई पनि व्यवस्थित गरी लगानी प्रवद्र्धनलाई पनि उत्तिकै सहयोग गरिरहेको विषयलाई बिर्सनु हुदैन,’ उनले भने, ‘भन्सार प्रशासनलाई अझ बढी निजी क्षेत्रमैत्री र सेवाग्राहीप्रति उत्तरदायी बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतिबद्धता (क्योटो कन्भेन्शन र टीएफए) अनुरुप नयाँ भन्सार विधेयक संसदमा टेवल गर्ने प्रक्रिया अगाडि बढ्नु सकारात्क छ ।’
भन्सार विभागमा महानिर्देशक हरिशरण पुडासैनीले राष्ट्रिय नीति उद्योग व्यवसायको प्रवद्र्धन भएको बतए । उनले व्यवसायीहरूको मनोबल उच्च राख्ने गरि भन्सार प्रशासनले काम गरिरहेको बताए । ‘भन्सार प्रसाशन अन्तर्राष्ट्रिय भन्सार संगठनले प्रतिपादन गरेका नीतिलाई कार्यान्वयन गर्ने, भन्सार सहजिकरण गर्ने तथा प्रविधिको उच्चतम प्रयोग गर्ने गरि अगाडि बढेको छ,’ उनले भने।
प्रतिक्रिया