विराटनगर । सत्तारूढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेश ल्याउने संवैधानिक प्रावधानको दुरुपयोग भइरहेको बताएका छन् । विराटनगरस्थित आफ्नो निवासमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले देश ठप्प हुने अवस्थाबाहेक अन्य परिस्थितिमा अध्यादेश ल्याउन नहुने बताए ।
‘अध्यादेश भनेको संविधानमा रहेका प्रावधानलाई अति आपत्कालीन अवस्थामा मात्र प्रयोग गर्ने हो। तर, अहिलेका अवस्थामा यसको दुरुपयोग भइरहेको छ’ उनले भने ।
कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेको बलियो बहुमत भएको सरकारका बेलामा अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गरे। ‘जब संसदमा बहुमत छ, दुई-तिहाइ आवश्यक नभए पनि ऐन पारित गर्न सक्छ। यस्तो अवस्थामा अध्यादेश किन आवश्यक पर्यो?’ उनले प्रश्न गरे।
उनका अनुसार अध्यादेशबाट देश चलाउनु निरंकुशताको प्रारम्भिक चरण हो। उनले संसदको महत्वलाई कायम राख्दै भने, ‘अब संसद बोलाइएको छ। त्यसले काम गर्ने हो। अध्यादेश ल्याउनु उचित प्रक्रिया होइन।’
उनले ल्याइएका अध्यादेशहरूका विषयवस्तु ठीक भए पनि तिनलाई संसदबाटै पारित गर्नुपर्नेमा जोड दिए। ‘अध्यादेशमा खराब सामग्री छैन । धेरै राम्रा छन्। तर, प्रक्रिया मिलाउनुपर्थ्यो,’ कोइरालाले भने।
पछिल्लो समय सरकारले सहकारीसम्बन्धी कानुन संशोधनदेखि भूमि व्यवस्थापनसम्बन्धी अध्यादेशहरू ल्याएको थियो। विपक्षी दलहरूका साथै कांग्रेसकै नेताहरूले पनि यी अध्यादेशहरूमा सरकारको कार्यशैलीप्रति आलोचना गरेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रस्तावबारे सोधिएको प्रश्नमा कोइरालाले नेपालको वर्तमान परिस्थिति अनुसार संसदीय व्यवस्था नै उपयुक्त हुने बताए ।
‘नेपाल बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक देश हो। दुई ठूला देशहरूको बीचमा रहेको हाम्रो देशका लागि संसदीय प्रणाली नै उपयुक्त छ,’ कोइरालाले प्रस्ट पारे।
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा कांग्रेसभित्र कुनै औपचारिक छलफल नभएको पनि जानकारी दिए । ‘अहिलेसम्म संसदीय प्रणालीलाई अँगालेर अघि बढिरहेका छौं। भविष्यमा छलफल गरेर निर्णय लिनेछौं,’ उनले भने ।
प्रतिक्रिया