काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले जलविद्युतमा लगानी गर्न दातृ निकायलाई आग्रह गरेका छन् ।
नेपालमा सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ गत पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ स्वीकृत गरेसँगै लगानी जुटाउनका लागि ऊर्जामन्त्री खड्काले दातृ निकायका प्रमुख एवं प्रतिनिधिसँग आज छलफल गरेका छन् । मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि यसअघि दातृ निकायबाट भएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा यसलाई निरन्तरता दिन आग्रह गरे ।
ऊर्जा विकास मार्गचित्रले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्रका रुपमा रूपान्तरण गर्न, राष्ट्रिय र सीमापार पूर्वाधारलाई बलियो बनाउँदै आर्थिक समृद्धिलाई अगाडि बढाउन सहयोग पुग्ने उनको भनाइ थियो ।
उक्त मार्गचित्र ऊर्जा सुरक्षा, दिगोपन र समावेशी आर्थिक वृद्धिको ‘रोडम्याप’ भएको मन्त्री खड्काले बताए । उनले मार्गचित्रले उत्पादनसँगै अन्तरदेशीय प्रसारण लाइनको विकासमा विशेष ध्यान दिएको उल्लेख गरे । जलस्रोतको पर्याप्त सम्भावना भएको नेपालले ऊर्जा क्षेत्रमा लगानीका लागि अतुलनीय अवसरहरू प्रदान गर्ने उनले बताए ।
विश्व बैंकको सहयोगमा निर्माण हुन लागेको माथिल्लो अरुण अर्ध-जलाशययुक्त आयोजना, एसियाली विकास बैंकको सहयोगमा निर्माण हुन लागेको दूधकोशी जलाशयुक्त आयोजना समयमै निर्माण हुने मन्त्री खड्काले विश्वास व्यक्त गरे । उनले उक्त मार्गचित्र नेपालको जलविद्युत् क्षेत्रको विशाल क्षेत्र र सम्भावनालाई उजागर गर्ने मार्गदर्शक दस्तावेजका रूपमा प्रमाणित हुने विश्वास व्यक्त गरे ।
जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव मधुप्रसाद भेटुवालले सरकारले राखेको ऊर्जा विकासको मार्गचित्रको लक्ष्यलाई पूरा गर्न दातृ निकायको ठूलो साथ र सहयोग आवश्यक रहेको बताए । उनले ऊर्जा उत्पादन, प्रसारण र वितरणमा चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौतीलाई समाधान गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले उर्जा विकास मार्गचित्रले राखेको लक्ष्य पूरा गर्न ४६.५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताए । उनले हाल ११ हजार एक सय ६१ मेगावाट विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको र १२ हजार नौ सय ६८ मेगावाट विद्युत् (पिपिए) हुने चरणमा रहेकाले सरकारले राखेको विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न समस्या नहुने उल्लेख गरे ।
विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयन गर्न ठूलो बजेटको खाँचो रहेको भन्दै यसलाई पूरा गर्न सबैको हातेमालो आवश्यक रहेको बताए । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा विकास मार्गचित्रले राखेको लक्ष्य पूरा गर्न प्राधिकरणले जलाशययुक्त आयोजना निर्माणमा ध्यान दिएको बताए । उनले नेपालको विद्युत् विकासमा दातृ निकायले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा विकास मार्गचित्र नेपालको उर्जा विकासको क्षेत्रमा ऐतिहासिक भएकाले यसलाई कार्यान्वयन गर्न निजी क्षेत्रको पूर्ण सहयोग रहेको उल्लेख गरे ।
एसियाली विकास बैंकका देशीय निर्देशक अर्नाउड काइचोइसले नेपालको ऊर्जा क्षेत्रको विकासमा दातृ निकायले लामो समयदेखि सहयोग गर्दै आएको र सरकारले राखेको ऊर्जा विकास मार्गचित्रको लक्ष्य पूरा गर्न आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा एशियाली विकास बैंक (एडिबी)सँगै विश्व बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), जर्मन फेडरल इन्टरप्राइज फर इन्टरनेसनल कोअपरेसन (जिआइजेड), अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी), संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), नर्वेजियन राजदूतावासलगायत दातृ निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रतिक्रिया