इजरायल-हमास संघर्षविराम: शान्ति कायम हुने झिनो आशा
विगत डेढ वर्षदेखि चलिरहेको इजरायल र हमासबीचको रक्तरञ्जित संघर्ष जनवरी १९ बाट युद्धविरामको चरणमा प्रवेश गर्ने भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडनले गत साता यसको घोषणा गरेपछि इजरायलको मन्त्रिपरिषद्ले शुक्रवार (१७ जनवरी) युद्धविरामका लागि सहमति जनाएको हो ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार (जनवरी २०) हुने आफ्नो शपथग्रहण समारोहअगावै युद्धविराम गराउनका लागि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका नेताहरूलाई चेतावनी दिएका थिए । पूर्वानुमान गर्न नसकिने उनको सनकी स्वभावका कारण भविष्यमा जे पनि हुन सक्ने डरले दुवै पक्ष युद्धविरामका लागि तयार भएको देखिन्छ । त्यसैले ट्रम्पले नियुक्त गरेका पश्चिम एसियाली दूत (मिडल ईस्ट इन्भोय) स्टिभ विट्कोफलाई युद्धविराम सम्झौता गराउन खासै कठिनाइ भएन ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणका कारण लगभग १२ सयजना सैनिक र सर्वसाधारणको मृत्यु भएपछि इजरायलले थालेको प्रतिकारात्मक कारवाहीमा लगभग ४७ हजार प्यालेस्टाइनीहरूको मृत्यु भइसकेको छ । इजरायलले प्यालेस्टाइनीहरूका विरुद्ध नरसंहार गरिरहेको भनी विभिन्न मानवअधिकार संगठनहरूले लगातार आवाज उठाउँदै आएका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत नोभेम्बर महिनामा नेतान्याहु र इजरायलका पूर्व रक्षामन्त्री योआभ गालान्टविरुद्ध पक्राउपुर्जी जारी गरेको छ ।
इजरायलले निहत्था प्यालेस्टाइनी सर्वसाधारणमाथि बम र गोलीको वर्षा गरेर मात्र नभई खाद्यान्न र पानीको आपूर्ति समेत रोकेर अमानवीय व्यवहार देखाएको छ । विगत लगभग ८० वर्षदेखि इजरायलले प्यालेस्टाइनीहरूमाथि गरिरहेको दमन र थिचोमिचोको अनन्त शृंखलामा यो पछिल्लो नरसंहारको कालो अध्याय पनि जोडिएको हो ।
युद्धबाट पीडित प्यालेस्टाइनीहरूलाई अहिलेको युद्धविरामले राहत दिलाउनेछ तर यो शान्ति लामो समयसम्म कायम रहने कुनै सुनिश्चितता छैन । इजरायलले प्यालेस्टाइनीहरूका विरुद्ध दशकौंदेखि प्रदर्शन गरिरहेको दोहोरो चरित्रका कारण दीर्घकालीन शान्तिको सम्भावनामा प्रश्नचिह्न उठेको हो । विगतमा इजरायलले युद्धविरामको पहिलो चरणअन्तर्गत इजरायली बन्दीहरूलाई छुटाउने तर त्यसपछि प्यालेस्टाइनीहरूलाई भड्काउने कामहरू गर्ने अनि प्यालेस्टाइनी प्रतिकारलाई आतंकवादको संज्ञा दिँदै पुनः युद्ध शुरू गर्ने गरेको इतिहास रहेको हुँदा स्थायी शान्तिमा अवरोध पुग्ने गरेको थियो । यसपालि पनि त्यसै नहोला भन्न सकिन्न ।
अहिलेको युद्धविराम सम्झौता तीन चरणमा लागू हुनेछ । पहिलो चरण ४२ दिनसम्म जानेछ र त्यस अवधिमा हतियारहरू चलाइने छैनन् । हमासले डेढ वर्षअघि बन्दी बनाएकामध्ये ३३ जना इजरायलीहरूलाई रिहा गर्नेछ र त्यसको बदलामा इजरायलले एक हजारजना प्यालेस्टाइनी बन्दीहरूलाई थुनामुक्त गर्नेछ । यसका अतिरिक्त, इजरायली सेना युद्धविरामको पहिलो दिन गाजापट्टिको घना बस्तीबाट पछि हट्नेछ र सातौं दिन विस्थापित प्यालेस्टाइनीहरूलाई उत्तरी गाजामा फर्किन दिइनेछ । अनि इजरायलले खाद्यान्न र औषधि बोकेका ६०० ट्रकहरू दैनिक रूपमा गाजामा प्रवेश गर्न दिनेछ ।
युद्धविरामको दोस्रो चरण १६औं दिनबाट शुरू हुन्छ र त्यसक्रममा बाँकी रहेका इजरायली बन्दीहरूलाई हमासले मुक्त गर्नेछ । यस चरणमा इजरायलले गाजाबाट पूर्णरूपमा आफ्ना सैनिकहरू फिर्ता लैजानेछ भने गाजा र इजिप्टको बीचमा रहेको फिलाडेल्फी कोरिडोरका केही भागमा सैनिकहरू तैनाथ गरिरहनेछ । अहिले इजिप्ट र गाजाबीचको रफाह सीमामा इजरायलले नियन्त्रण गरिरहेकोमा त्यहाँबाट पनि पछि हट्नेछ ।
तेस्रो चरणमा भने युद्ध सदाका लागि अन्त्य गर्ने सम्झौताका लागि छलफल हुनेछ । तर यस्तो सम्झौता गराउन निकै कठिन छ किनकि इजरायल र हमासबीच पारस्परिक अविश्वास गहिरो गरी जमेको छ । हमासले स्थायी युद्धविराम खोजेको भए पनि इजरायलले हमासको अस्तित्व रहुञ्जेल जुनसुकै बेलामा पनि आफूहरू युद्धमा फर्किन सक्ने स्थिति कायम रहिरहने जनाएको छ।
अनि गाजामा कसले शासन चलाउँछ भन्ने कुरा पनि स्पष्ट छैन । हमासलाई गाजाको शासनमा राखिरहन इजरायललाई मञ्जूर छैन । त्यसका साथै युद्धका कारण पूरै ध्वस्त भएको गाजाको पुनर्निर्माणका विषयमा कुनै सहमति बनेको छैन । प्यालेस्टाइनीहरूले दशकौंदेखि मागिरहेको पूर्ण स्वतन्त्र र सार्वभौम राज्यको विषयमा सहमति बन्ने सम्भावना त झनै देखिँदैन ।
इजरायलले प्यालेस्टाइनीहरूलाई उनीहरूको भूमिबाट पूर्णतया विस्थापित गर्ने लक्ष्य लिएको छ र त्यसबाट ऊ पछि हट्ने कुनै संकेत देखिँदैन । त्यसैले विगतमा जस्तै अहिलेको युद्धविराम पनि दीर्घकालीन हुने देखिँदैन । तर यसले तत्कालका लागि मानवीय संहार रोक्ने काम गरेकाले यसलाई स्वागतयोग्य नै भन्नुपर्ने हुन्छ ।
ट्रम्प प्रशासनले यस रणनीतिक सफलतालाई थप दरिलो बनाउनका लागि विभिन्न कदम चाल्ने अपेक्षा गर्न सकिन्छ । इरानका कट्टर विरोधी मार्को रुबियोलाई परराष्ट्रमन्त्री बनाएर ट्रम्पले इरानविरुद्ध कठोर दबाबको स्थिति सिर्जना गर्ने संकेत दिइसकेका छन् । उनले इरानमा सत्तापरिवर्तनकै कोशिश गर्नेछन् र त्यसमा सफलता हात परेनछ भने पनि आर्थिक प्रतिबन्धमार्फत दबाब चाहिँ दिइरहनेछन्
खासमा भन्ने हो भने अमेरिकाले इजरायललाई अन्धसमर्थन गरिरहेकाले स्थायी शान्ति असम्भव बनेको हो । इजरायललाई अमेरिकाले हातहतियार तथा अन्य सहयोग दिइरहुञ्जेल इजरायलको मनोबल उच्च रहन्छ । संसारको सबभन्दा शक्तिशाली मुलुकबाट अविच्छिन्न सहयोग पाइरहँदा इजरायलले प्यालेस्टाइनीमाथि दमन र प्यालेस्टाइन समर्थकहरूलाई अटेर गरिरहन्छ ।
यस्तो अमेरिकी सहयोग ट्रम्प प्रशासनले पनि जारी राख्नेछ । तर ट्रम्पले युद्ध र रक्तपातविरोधी खेमालाई प्रतिनिधित्व गर्ने भएकाले प्यालेस्टाइनीहरूको जीवन हरण गर्ने कार्यमा रोक लगाउलान् भनी अपेक्षा गर्न सकिन्छ । त्यसमाथि इजरायलले पछिल्लो समयमा गरेको कारवाहीले अमेरिकालाई रणनीतिक सफलता हासिल गराएकाले पनि अब युद्धविराममा जाँदा समेत घाटा नलाग्ने अनुमान ट्रम्पले गरेका हुन सक्छन् ।
यस पछिल्लो युद्धका क्रममा इजरायलले लेबननको हेज्बोल्लाह समूहको नेतृत्वलाई ध्वस्त बनाउन सफलता पाएको छ । त्यसैगरी सिरियामा असद सरकार पदच्युत गराएर सिरियाली भूभागमा कब्जा जमाउन पनि ऊ सफल छ । यी सबै कार्यले इजरायलको रणनीतिक शत्रु इरान कमजोर बनेको छ र उसले तत्कालका लागि इजरायलविरुद्ध निर्णायक कारवाही गर्न सक्ने स्थिति छैन । यस अर्थमा अमेरिकाले इजरायललाई अग्रमोर्चामा राखेर पश्चिम एसियामा राम्रो रणनीतिक परिणाम प्राप्त गरेको छ।
ट्रम्प प्रशासनले यस रणनीतिक सफलतालाई थप दरिलो बनाउनका लागि विभिन्न कदम चाल्ने अपेक्षा गर्न सकिन्छ । इरानका कट्टर विरोधी मार्को रुबियोलाई परराष्ट्रमन्त्री बनाएर ट्रम्पले इरानविरुद्ध कठोर दबाबको स्थिति सिर्जना गर्ने संकेत दिइसकेका छन् । उनले इरानमा सत्तापरिवर्तनकै कोशिश गर्नेछन् र त्यसमा सफलता हात परेनछ भने पनि आर्थिक प्रतिबन्धमार्फत दबाब चाहिँ दिइरहनेछन् । इरानलाई पश्चिम एसियाको प्रमुख शत्रुका रूपमा चित्रित गरेर त्यहाँको सुरक्षा व्यवस्थामा आफ्नो भूमिका कायम गरिरहने अमेरिकी नीतिलाई ट्रम्पले निरन्तरता दिनेछन् ।
त्यस रणनीतिअन्तर्गत अमेरिकाले साउदी अरबलाई इजरायलसँगको सम्बन्ध सामान्यीकरणमा जोड दिनेछ । पहिलो कार्यकालमा इरानलाई एक्ल्याउन र प्यालेस्टाइनीहरूको सार्वभौम राज्यको आकांक्षालाई साकार हुन नदिनका लागि ट्रम्पले अब्राहम एकर्ड्स गराएका थिए । त्यसलाई एक कदम अघि बढाएर इजरायल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध कायम गराउनेमा उनको जोड रहने देखिन्छ । त्यसो गर्दा पश्चिम एसियामा चीनको बढ्दो प्रभावलाई रोक्न सकिने आकलन उनले गरेका हुन सक्छन् ।
पश्चिम एसियामा प्रभुत्व कायम राखिरहने अमेरिकाको रणनीतिको केन्द्रमा इजरायल छ । त्यसैले इजरायललाई जस्तोसुकै सहयोग गर्न पनि अमेरिका नहिचकिचाएको हो । तर इजरायलका प्रधानमन्त्री नेतान्याहुका कारण अमेरिका अनावश्यक युद्धमा फसिरहेको भनी अमेरिकी चिन्तक जेफ्री स्याक्सले दिएको बयानको भिडियोलाई ट्रम्पले आफ्नो खाताबाट पोस्ट गरी नेतान्याहुको रक्तपिपासामा आफ्नो साथ नरहने संकेत दिएका छन् । युद्धविना नै अमेरिकालाई पश्चिम एसियाको प्रभुत्व कायम गराउनका लागि अपनाउन सकिने उपायहरू ट्रम्प प्रशासनले खोज्नेछ ।
ट्रम्पको यो शान्तिप्रियताले प्यालेस्टाइनीहरूको जीवन बचाउन योगदान गर्नेछ । तर सार्वभौम राज्यप्रतिको प्यालेस्टाइनी चाहनालाई ट्रम्पले तुषारापात गर्नेछन् । त्यसैले इजरायली र प्यालेस्टाइनीहरूबीचको वैमनस्य कुनै पनि बेलामा युद्धमा परिणत हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न ।