होटल क्षेत्रमा लगानी बढ्दै : क्षमता ३५ लाख पर्यटक धान्ने, भित्रिए ३३ प्रतिशत मात्रै
काठमाडौं । नेपालको होटल क्षेत्रमा आक्रामक लगानी हुन थालेको छ । होटल क्षेत्रमा बढ्दै गएको लगानीका कारण नयाँ होटल थपिने क्रम पनि रोकिएको छैन ।
होटल क्षेत्रमा देखिएको सम्भावनाकै कारण बैंक तथा वित्तीय संस्थाहरुको पर्यटन क्षेत्र अन्तर्गतको होटलमा लगानी करिब साढे २ खर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुले पर्यटन क्षेत्रमा गरेको लगानी २ खर्ब ४७ अर्ब रुपैयाँ लगानी भएको छ । यो लगानीमध्ये ९० प्रतिशतभन्दा बढी होटल क्षेत्रमै भएको उल्लेख छ ।
होटल क्षेत्रमा लगानी बढदै गएको भए पनि अहिले नै नेपालमा ३५ लाख पर्यटक धान्न सक्ने क्षमता बनिसकेको छ । होटल क्षेत्रले बनाएको यो क्षमता अनुसार पर्यटक आगमन भने न्यून छ । तथ्यांक अनुसार सन् २०२४ मा करिब साढे ११ लाख पर्यटक आएका छन् । यी पर्यटकको आगमन होटलको कुल क्षमताको ३३ प्रतिशत मात्रै हो । अहिलेको पर्यटक आगमन अनुसार अझै होटलका ६७ प्रतिशत क्षमता खाली छ
पर्यटक आगमन र क्षमताभन्दा बढी होटल बनिरहेको भएपनि अझै होटल क्षेत्रमा लगानी गर्ने र नयाँ नयाँ होटल निर्माणको क्रम भने रोकिएको छैन । नेपालमा पछिलो समय पाँचतारे होटल नै २२ वटा पुगिसकेका छन भने धमाधम नयाँ बन्ने र भएकै होटल स्तरोन्नती हुने काम पनि रोकिएको छैन् ।
‘३५ लाख पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता बनायाैं’
होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहले राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक स्मरण गर्दै भने, ‘देशमा १ लाख ४२ हजार भन्दा बढी होटल तथा रेस्टुरेन्टहरु सञ्चालनमा रहेको, १ लाख १६हजार भन्दा बढी होटल कोठा उपलब्ध रहेको, नेपालमा रेस्टुरेन्टहरुले २२ लाख ग्राहकहरुलाई सेवा दिन सक्ने क्षमता रहेको उल्लेख गरेको छ । योसँगै प्रत्येक महिना जस्तो खुलेका अन्तर्राष्ट्रिय ब्राण्डका ठूला तारे होटलले नेपालमा झन्डै ३५ लाख पर्यटकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास भइसकेको छ ।’
तथ्यले नेपालको पर्यटन बजारमा बढ्दो उत्साहाप्रद आपूर्तिको स्थिति इंगित गर्दछ भने त्यसको अनुपातमा मागको एक तिहाइको हाराहारीमा मात्र पर्यटक आएका छन् । २०२४ मा हवाई मार्गबाट आउने पर्यटक संख्या ११ लाख ४७ हजारको तथ्यांकले देखाएकाे छ ।
हानले स्थापना दिवसको अवसर पारेर माघ २ गते आयोजना गरेको नेपाल सत्कार दिवस २०२५ लाइ सम्बाेधन गर्दै शाहले भनेका छन्, ‘हानले सुरु गरेको सत्कार दिवस प्रत्येक वर्ष मनाउने अभियान सुरु भइसकेकाे छ । यसकाे सुरुवात गतवर्षबाट नै भएकाेले याे दोस्रो सत्कार दिवस भएकाे पिन अध्यक्ष शाहले बताए ।
अध्यक्ष शाहले यस दिवसमा होटल क्षेत्रमा हासिल भएका उपलब्धी, सामना गरिएका चुनौतीहरु र भावी दिनको योजना तथा कार्यक्रमहरुको प्रस्तुती गर्न तथा होटल क्षेत्रले देश, जनता, आर्थिक विकास र समग्र पर्यटनबाट भएको र हुन सक्ने सम्वृद्धिको लेखाजोखा हुने बताए ।
अस्तव्यस्त राजमार्ग भएर १०/१२ घण्टा लगाएर काठमाडौंबाट २ सय किलोमिटरको दुरीको पोखरा पुग्ने बाध्यता धेरै बिदा मनाउन रमाइलो गर्न आउने पर्यटकहरु खप्न तयार देखिँदैनन् । गतवर्ष भएका हवाई तथा सडक दुर्घटनाहरुका साथै युरोपियन युनियनको कालो सूचीमा नेपाली एयरलाइन्सहरु रही रहेकोले समस्या झन् बढेको अध्यक्ष शाहले बताए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटल इयर बुक विमानेचन गर्दै यस किसिमको सत्कार दिवसले सिंगो पर्यटन क्षेत्र तथा सरोकारवालाहरुलाई एकै थलो राखी मुलुकको समग्र पर्यटनको विषय वस्तुहरु यकीन हुने कार्यक्रम ज्यादै महत्वपूर्ण रहेको भन्दै सराहना गरे ।
मन्त्री पाण्डेले राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको र मुलुकको पर्यटनालाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागिपरेको जानकारी गराए । उनले निजी क्षेत्रसँगको समन्वय विना पर्यटनलाई अगाडि बढाउन नसकिने जिकिर गर्दै मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेसँगको सहकार्य गर्दै आइरहेको पनि बताए ।
हानका वरिष्ठ उपाध्यक्ष प्रविण बहादुर पाण्डेले पछिल्लो समय लगानी विस्तार भएका र २०२५ र २०२६ मा खोलिने क्रममा रहेका ठूला तथा सना होटलहरुले अझ बढी राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा योगदान पु¥याउने बताए । यसरी नेपाली ब्राण्ड विदेशमा लैजाने क्रमको सुरुआत भएको छ भने विदेशी ब्राण्डले पनि नेपाल साँच्चिनै प्रकृतिले भरिएको सुन्दर मुलुक रहेको संसारभर सकारात्मक सन्देश फैलाउन सक्ने बताए ।
उपाध्यक्ष पाण्डेले कैयन होटल र लजहरु विना दर्ता सञ्चालनमा रहेको दुःखद् विषय नै हो । यसबाट राज्यले ठूलो राजस्व गुमाउनुका साथै राज्य र विभिन्न संघसंस्थाहरुबाट गरिएको विश्वव्यापी प्रवद्र्धनबाट नेपाल भित्रिएका पर्यटकहरु दर्ता नभएका होटल लजमा बस्दा यस संघमा कानुनी दायरामा रही दर्ता संचालनमा रहेका होटलहरुलाई अन्याय भएको हामीले महसुस गरेका छौं । यसलाई राज्यबाट कानुनी दायरामा ल्याउन सके राजस्व वृद्धि हुनुका साथै राष्ट्रिय ग्राहस्थ्य उत्पादनमा समेत मद्दत पुग्ने समेत प्रष्ट पारे ।
संघलाई सातै प्रदेश र सतहत्तरै जिल्लामा विस्तार हुने गरी विधान संशोधन प्रस्ताव पारित ग¥यो । कार्यक्रममा सातै प्रदेशका रैथाने तथा मौलिक खानाको परिकारबाट सत्कार गरिएको थियो ।