३ अर्ब लागतमा बनेको मर्क्युर होटलको औपचारिक शुभारम्भ, पाँचतारे होटलसँगै नयाँ ब्राण्ड थपियो

कस्तो छ होटल ?




काठमाडौं । एबी होल्डिङमार्फत देशबन्धु बस्नेतले निर्माण गरेको पाँचतारे होटल मर्क्युर होटलको आज (बुधबार) औपचारिक शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुभारम्भ गरेसँगै होटलको सेवा प्रारम्भ भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्घाटन गर्दै नेपालकै लागि र काठमाडौंका लागि नयाँ होटल आएको उल्लेख गरे।

‘यसले युरोप र हाम्रो सम्बन्ध त्यसमा पनि फ्रान्स र हाम्रो सम्बन्धलाई राम्रो बनाएको छ,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटन नेपाल भ्रमण गराउन यस होटेलले योगदान दिने विश्वास व्यक्त गरे । उनले होटेल व्यवसायमा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गर्दै यस क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने बताए ।

नेपालको हिमाल आरोहणमा ८ हजारभन्दा माथिको हिमाल १९५० मा फ्रेन्च आरोही मरिस हर्जोजले चढेको ओलीले स्मरण गरे ।

काठमाडौंमा थपिएको यो पाँचतारे होटलसँगै नयाँ ब्राण्डसमेत भित्रिएको छ । सुकेधारामा ११ तलामा ठडिएको बिल्डिमा १०४ कोठाको पाँचतारे होटल मर्क्युर सञ्चालनमा आएको हो । होटल सञ्चालनसँगै नेपालमा नयाँ विदेशी चेन होटलको समेत सुभारम्भ भएको छ ।

पछिल्लो समय पर्यटकीय सेवा र सुविधामा एकरुपताका लागि विदेशी ब्राण्डमै पाँचतारे होटल सञ्चालन भइरहेका छन् । हाल नेपालमा सञ्चालन भइरहेका पाँचतारेमध्ये अधिकांश विदेशी चेनका छन् ।

नेपालको यो होटलको सुभारम्भसँगै पहिलोपटक फ्रान्सेली ब्राण्डसमेत आएको छ । अकोर होटलको समूहको मर्क्युरसँगै होटलले दिने सेवा सुविधा अन्तर्राष्ट्रिय स्तरको हुने भएको छ । यो होटल बनाउन करिब ३ अर्ब रुपैयाँ खर्च भएको होटलले जानकारी दिएको छ । यो होटलमा २२० जना कर्मचारी हुने छन् ।

यो होटलमार्फत एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वक ११० वटा देशमा ५४ सय भन्दा बढी होटल सञ्चालन गरिरहेको अक्कोर ग्रुप नेपाल भित्रिएको हो ।

अक्कोर ग्रुपभित्र रहेको ४० भन्दा बढी ब्राण्डमध्ये नेपालमा भित्रिएको मर्क्युर एउटा होटल ब्राण्ड हो ।

बस्नेतले द मेट्रोपोलिटन होटल प्रालिमार्फत नेपाल भित्र्याएको अक्कोरले ग्रुप अन्तर्गतको मर्क्युर ब्राण्डले पनि ६० भन्दा बढी देशमा ८१० वटा भन्दा बढी होटल सञ्चालन गरिसकेको छ ।

स्थानीय कला संस्कृति र परम्पराको प्रभावलाई आधुनिक डिजाइन र सेवासँग जोडेर दिइने आतिथ्यताको सेवा नै यो होटलको विशेषता हो । यसको सबै ब्राण्डको सेवामा एकरुपता दिनु र स्तरीय पर्यटीय सेवा दिनुभएको पनि बस्नेतको भनाइ छ ।

होटलले पूर्वाधारमात्रै नभएर सुकेधारको होटल परिसरमा हरियाली निर्माणसँगै सडक पूर्वाधारमा पनि योगदान गरेको छ । यो होटलले सार्वजनिक सेवासँगै ७० लाख रुपैयाँभन्दा बढी खर्चिएर १४० मिटर सडकसमेत निर्माण गरेको छ ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा ११ तले छ । होटलको टफ फ्लोमा स्वीमिङ पुल, होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा छन् । होटलले हाल २२० जनालाई रोजगारी दिएको छ ।

नेपालमा सेवा सुभारम्भ भएको मर्क्युर होटलमा एउटा एक्जुकेटिभ स्वीट, ७ वटा जुनियर स्वीट, इन्टर कनेक्टिङका स्याण्डर्ड रुमसहितका सुविधासम्मन्न कोठाहरु छन् ।

यो होटल सञ्चालन गर्ने बस्नेत बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्यमा छन् । उनी महासंघको हवाई तथा यातायात समितिका अध्यक्षमा बसेर काम गरिरहेका छन । उनी जाम्बियाको मानार्थ कन्सुलर समेत हुन् ।


क्लिकमान्डु