राष्ट्र बैंकले सीमा हटाएपछि सेयर मार्जिन लोनमा बहार, ५ महिनामै २०% ले बढ्दा नबिल र ग्लोबल अगाडि


काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो राखेर प्रवाह हुने कर्जा ५ महिनामै १९.८ प्रतिशतको बढेको छ । मंसिर मसान्तसम्म मार्जिन प्रकृतिको यस्तो कर्जाको आकार बढेर १ खर्ब ७ अर्ब ९४ करोड ५२ लाख रुपैयाँ पुगेको हो ।

गत असार मसान्तमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ बराबरको यस्तो कर्जा प्रवाह भएको थियो । राष्ट्र बैंकका अनुसार सेयर धितोमा जाने सबै खाले कर्जा बढेको छ ।

जसअनुसार १ करोड भन्दा बढी आकारको कर्जा २७.३ प्रतिशतले बढेर १५ अर्ब २५ करोड ५४ लाख रुपैयाँ पुुगेको छ । सेयर धितोमा राखेर प्रवाह हुने ५० लाख देखि १ करोडसम्म मार्जिन प्रकृतिको कर्जा ११.३ प्रतिशतले बढेर १ अर्ब ४० करोड ४२ लाख रुपैयाँको छ ।

यस्तै २५ लाख देखि ५० लाख रुपैयाँसम्म गएको कर्जा ५.९ प्रतिशतले बढेर ८ करोड ५६ लाख र २५ लाख रुपैयाँसम्म जाने कर्जा ३ करोड ३६ लाख रुपैयाँ पुुगेको छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितोमा सीमा हटाए पछि यस्तो कर्जा बढेको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा खारेज गर्ने घोषणा गरेको थियो । सोहीअनुसार साउन १८ गते संस्थागततर्फको २० करोडको सीमा खारेज भएको छ । संस्थागत लगानीकर्ताको हकमा सीमा हटेपनि व्यक्तिगतको हकमा १५ करोडको सीमा यथावत छ ।

मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिए तापनि धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु हुँदैन ।

राष्ट्र बैंकले २०७८/७९ को मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४/१२ को नीति ल्याएको थियो । जसलाई १० महिनाअघि १५/२० करोड कायम गरिएको थियो ।

लगानीकर्ताले यो व्यवस्थाले सेयर लगानीकर्तालाई निरुत्साहित गरेको आरोप लगाउँदै आएका थिए ।

तथ्यांकअनुसार मंसिर मसान्तसम्म २० मध्ये १९ वटा बैंकले ८६ अर्ब ३३ करोड रुपैयाँ मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह गरेका छन् । स्टयान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितोमा जाने कर्जा दिएको छैन ।

१९ मध्ये सबैभन्दा धेरै कर्जा नबिल बैंकले दिएको छ । मंसिर मसान्तसम्म बैंकले ११ अर्ब ३९ करोड ५० लाख रुपैयाँ कर्जा दिएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ११ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ कर्जा दिएको छ ।

सबैभन्दा कम नेपाल एसबिआई बैंकले ४७ करोड ६८ लाख रुपैयाँ मात्रै कर्जा दिएको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल बैंकले ७ अर्ब ९१ करोड, सिद्धार्थ बैंकले ७ अर्ब ९१ करोड, कुमारी बैंकले ६ अर्ब ८० करोड १६ लाख, प्राइम बैैंकले ५ अर्ब ८३ करोड ५२ लाख, सिटिजन्स बैंकले ५ अर्ब ६८ करोड ७६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २० करोड १५ लाख रुपैयाँ मार्जिन नेचर लोन प्रवाह गरेका छन् ।

यस्तै प्रभु बैंकले ४ अर्ब २ करोड, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ७४ करोड ६७ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ८ करोड ५४ लाख, एनआईसी एशिया बैंकले २ अर्ब ६५ करोड ९५ लाख, एभरेष्ट बैंकले २ अर्ब ५३ करोड सानिमा बैंकले २ अर्ब ३२ करोड ४८ लाख रुपैयाँ सेयर धितोमा कर्जा दिएका छन् ।

कृषि विकास बैंकले १ अर्ब ९३ करोड ९० लाख, हिमालयन बैंकले १ अर्ब ८३ करोड, एनएमबि बैंकले १ अर्ब ७१ करोड २१ लाख, माच्छापुच्छ्रे बैंकले ९५ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।