काठमाडौं । आज(सोमबार) काठमाडौं चक्रपथ सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारी साधनको प्रदुषण चेकजाँच गर्दा ७८ प्रतिशत अर्थात् ३१ वटा फेल भेटिएका छन् ।
पुस २९ गतेबाट ट्राफिक प्रहरीसँगको समन्वयमा काठमाडौं महानरपालिकाले आजसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारी साधनको जाँच गरेको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी प्रदुषण मापनमा फेल भएका छन् ।
माघ ६ गते टेकुमा चेकजाँच गरिएका ४० वटा सवारी साधनमध्ये ३३ वटा फेल भएका भेटिए । माघ ४ गते सिनामंगल क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १० वटा प्रदुषण मापदण्ड बाहिरका पाइए । माघ ३ गते पानीपोखरी क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १४ वटा फेल भएका साधन थिए ।
माघ २ गते जमल क्षेत्रमा २० वटाको चेकजाँच गर्दा ६ वटा फेल थिए । पुस २९ गते बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा फेल थिए । यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको छ ।
वायु प्रदुषण नियन्त्रणका प्रयासमध्ये सवारी साधनबाट निस्कने प्रदुषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।
यस्तो छ मापदण्ड
महानगरपालिकाले वातावरण सुधारका लागि वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदुषण नियन्त्रण मापदण्ड २०८१, फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ जारी गरेको छ । मापदण्डमा पेट्रोलबाट चल्ने सवारी साधन र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ । सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । दुई पाङ्ग्र सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएकयु) हुनुपर्छ ।
जाँचका क्रममा तोकिएको एकाइभन्दा माथिल्लो अङ्क देखियो भने प्रदुषण मापदण्ड बाहिर हुन्छ ।
प्रतिक्रिया