लिपिङमा बेलिब्रिज जडान गरिदैं, केहि दिन तातोपानी नाका बन्द हुने




सिन्धुपाल्चोक । सरकारले भोटेकोशी गाउँपालिका–२ लिपिङमा बेलिब्रिज जडान गर्ने तयारी गरेको छ ।

गत असोजमा बाढीले पुल बगाएको थियो । बेलिब्रिज जडान गर्नका लागि केहि दिन तातोपानी नाका बन्द गर्ने सरकारको तयारी छ । नेपाली र चिनियाँ अधिकारीबीच भएको अनौपचारिक छलफल अनुसार माघ ६ देखि २५ सम्म नाका बन्द गर्ने तयारी गरिएको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार बेलिब्रिज निर्माणका लागि तातोपानी नाका करिब १५र२० दिन बन्द हुने समय तालिका बनाइएको छ ।

‘चिनियाँ ल्होसार पर्व आसपास चीनमा पनि सरकारी बिदा हुन्छ, त्यो वेला नाका बन्द गर्दा दुवैतर्फ व्यापारमा असर कम पर्छ,’ उनले भने ।

जनवरी २९ मा चिनियाँ नयाँ वर्ष प्रारम्भ हुन्छ । त्यति बेला १५ दिनसम्म तिब्बती ल्होसार मनाउने चलन छ । त्यही मौका छोपेर नाका बन्द गर्ने नेपाल पक्षले तयारी गरेको छ ।

अहिले ह्युमपाइप राखेर लिपिङ र लार्चामा सडक जोडेर चलाइएको चरिकोट सडक डिभिजन कार्यालय प्रमुख अमित श्रेष्ठले बताए ।

‘गत असोजमा लिपिङ खोला र भोटेकोशीको बाढीले यहाँको मोटरेबल पुल, बेलिबिज्र बगाएको थियो, लार्चार्मा सडक यथावत् छ, लिपिङमा बेलिब्रिज जडान गर्न लागिएको हो,’ उनले भने ।

नाका जोड्ने वैकल्पिक सडक नभएकाले स्थलमार्ग बन्द गर्नुबाहेक अरू उपाय नभएको प्रमुख श्रेष्ठको भनाइ छ ।

चिनियाँ कन्टेनर व्यवसायीले ल्होसार आसपास सामान क्यारिङ नगर्न सूचना जारी गर्ने तयारी गरिरहेका छन् । यसबारे ट्रान्सपोर्टर र व्यापारिक केन्द्रलाई सरकारमार्फत निर्देशन गरिसकेको व्यवसायीले जनाएका छन् ।

भूकम्प, पराकम्प र बाढीपहिरोपछि नाका खुलाउन पहल भइरहेका बेला २०७३ असार २१ मा भोटेकोशीको बाढीले सडक र सीमाका ८० वटा घर बगाएर कोदारी राजमार्ग तहसनहस बनेको थियो ।

२०७४ सालमा चिनियाँ कम्पनीद्वारा निर्मित लार्चाको मोटरबेल सुक्खा पहिरोले थुनिएर भोटेकोशी नदीमा बगेको थियो । त्यसलगत्तै केही समयपछि बेलिब्रिज जडान गरिएको थियो ।

यसअघिका बर्खामा क्षति मात्रै भइरहेको लिपिङ बजार जोड्ने लिपिङ पुल गत असोजमा लिपिङ खोलामा आएको बाढीले पूरै बगाएको थियो । २०७२ भूकम्प र पराकम्पले कमजोर बनेका यहाँका पहाड कुनै सग्ला छैनन् । बर्खामा पहिरोले क्षतविक्षत हुने गरेको छ ।


क्लिकमान्डु