ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना हुँदा आगो लाग्यो, २७ यात्रुको जीवितै उद्दार



एजेन्सी । अजरबैजानबाट रूसतर्फ उडेको यात्रुवाहक विमान कजाकिस्तानको अक्ताउ विमानस्थलमा दुर्घटनामा परेको छ ।

अजरबैजानको राजधानी बकुबाट रसियाको शहर ग्रोज्नी जाँदै गरेको अजरबैजान एयरलाइन्सको जे२-८२४३ फ्लाइटमा ६७ जना यात्रु र ५ जना चालक दलका सदस्य गरि ७२ थिए । यसअघि स्थानीय सञ्चारमाध्यमले १०५ यात्रु रहेको उल्लेख गरेको भए पनि विमानमा ७२ जना सवार रहेका हुन् ।

बाकुबाट चेचनियाको राजधानी ग्रोज्नी जाँदै गर्दा अक्ताउ शहरबाट करिब ३ किलोमिटर (१.८ माइल) टाढा आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।

अवतरण गर्ने क्रममा विमान आगो लागेको थियो र टुक्राटुक्रा भएको थियो । विमानमा आगो र धुवाको मुस्लो उडिरहेको भिडियोहरु सार्वजनिक भएको छ ।

अजरबैजानको आपतकालीन स्थिति मन्त्रालयका अनुसार उद्धारकर्मीहरूले घटनास्थलमा आगो निभाउन सुरु गरेका थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रारम्भमा १४ जना जिवित व्यक्तिहरूलाई क्षेत्रीय अस्पताल पुर्‍याइएको थियो, जसमा ५ जना गम्भीर अवस्थामा छन् ।

पछि मन्त्रालयले प्रारम्भिक रिपोर्टअनुसार २७ जना यात्रु बच्न सफल भएको पुष्टि गरेको छ।

यो दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको डेली मेलले जनाएको छ । रिपोर्ट अनुसार, उनीहरूलाई विमानको केबिनबाट बाहिर फालिएको थियो ।

प्रारम्भिक रिपोर्टअनुसार विमानमा सवारमध्ये ३७ जना अजरबैजान, ६ जना काजकिस्तान, ३ जना किर्गिस्तानका, र १६ जना रूसका नागरिक थिए ।


क्लिकमान्डु