भक्तपुरमा बाबुछोराको मृत फेला प्रकरण: सँगै सुतेका जेठा छोरा सम्पर्कविहीन



भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा प्रवीण आचार्य भक्तपुरमा मृत भेटिएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल निवासी ५६ वर्षीय आचार्य र उनका २२ वर्षीय छोरा भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित भाडाको घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

निमित्त कार्यालय प्रमुख आचार्यले मङ्सिर २८ गते बिदामा बस्न भन्दै खोटाङ जिल्ला प्रशासनमा जानकारी गराएका थिए । पाँच दिनअघि मात्रै उनी खोटाङबाट भक्तपुरस्थित भाडाको घरमा पुगेका थिए, जहाँ उनका जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बस्दै आएका थिए ।

प्रहरीका अनुसार, घटनास्थलमा बाहिरबाट ताला लगाइएको अवस्थामा दुई शव भेटिएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीले घटनालाई शंकास्पद मानी अनुसन्धान भइरहेको बताए । घटनास्थल र शवको अवस्था हेर्दा हत्या भएको हुन सक्ने अनुमान गरिएको छ।

तीनै जना बाबुछोरा गएराति खाना खाएर सुत्न गएका थिए । सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाइएको अवस्थामा कुलप्रसाद र प्रवीणको शव भेटिएको थियो ।

शवमा चोटपटक देखिएको र जेठा छोरा मिलन सम्पर्कविहीन भएकाले घटना झनै शंकास्पद बनेको प्रहरी र मृतकका आफन्तले बताएका छन् । शव परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको छ।


क्लिकमान्डु