सेयर बजारका विज्ञ/विश्लेषक र भ्रम फैलाउने समेतलाई नियमनको दायरामा ल्याउँदै धितोपत्र बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको विज्ञ र विश्लेषक लक्षित निर्देशिका ल्याउने भएको छ । धितोपत्र बजारको नियामक बोर्डले यस्ता विज्ञ र विश्लेषकलाई लाइसेन्स नै दिने गरी निर्देशन जारी गर्न लागेको हो ।

पछिल्लो समय धितोपत्रको दोस्रो बजार (सेयर बजार) मा विज्ञ र विश्लेषकको भूमिकाप्रति चर्चा हुने गरेको छ । तथाकथित विज्ञ र विश्लेषकले बजार प्रभावित पार्ने गरेको, केही सामाजिक सञ्जालमा लेखेर वा बोलेर लगानीकर्ताले सोझा लगानीकर्तालाई किन्न र बेच्न उक्साउने गरेको तथा विज्ञ÷विश्लेषकको नाममा शुल्क नै लिएर खरिद विक्रीको सुझाव दिने गरेका छन् ।

यस्तो परिस्थितिमा सामाजिक सञ्जालका गतिविधिमा लगाम लगाउनुपर्ने र विज्ञलाई नेपाल धितोपत्र बोर्डले नै चिन्नुपर्ने माग उठ्दै आएको छ । भारत लगायत अन्य देशमा विज्ञको छुट्टै रोस्टर हुने, विज्ञ तथा विश्लेषकको लाइसेन्स नै हुने गरेको छ ।

नेपालमा पनि विज्ञ र विश्लेषकलाई बोर्डले लाइसेन्स दिएर उनीहरुको गतिविधि नियमन तथा निरीक्षण गर्नुपर्ने माग उठेको छ । यस्तोमा धितोपत्र बोर्डले एक विशेष समिति बनाएर विज्ञ र विश्लेषक चिन्ने तथा सामाजिक सञ्जालमा हुने अबाञ्छित गतिविधिलाई निरुत्साहन गर्ने गरी निर्देशन ल्याउन लागेको हो ।

बोर्डका एक उच्च अधिकारीले भने, ‘हामीले सामाजिक सञ्जालमा हुने गतिविधिलाई सुक्ष्म ढंगले नियालीरहेका छौं । साथै विज्ञ र विश्लेषकलाई पनि नियमन गर्ने गरी निर्देशन ल्याउने तयारी गरेका छौं ।’

बोर्डले निर्देशन जारी गरेपछि यस्ता गतिविधि नियन्त्रण आउने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु