१६ वर्षीय विपिनको कमालः विश्वचर्चित क्रिकेटरको विकेट चट्काए, राष्ट्रिय टोलीमा पर्लान् ?



काठमाडौं । नेपल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा एउटा खेलाडीको धेरै नै चर्चा भइरहेको छ । उनी हुन्, विपिन शर्मा । १६ वर्षको उमेरमा नै कर्णाली याक्सबाट खेल्न पाउनु त्यो पनि ट्यालेन्ट हन्टमार्फत् । यति ठूलो सफलता हात पारेका विपिनले लिगमा ९ खेलबाट १३ विकेट लिन सफल भए ।

कर्णाली याक्सबाट खेलेका उनी टिमका लागि सर्वाधिक विकेट लिने खेलाडी बने । सानो उमेरमा नै टिमले उनीमाथि विश्वास गर्‍यो । थियो । मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले उनलाई धेरै अवसर दिए ।

कप्तान सोमपाल कामीले पनि उनलाई टिमको खराब अवस्थामा पनि बलिङ गर्न दिए । उनै विपिनले प्रतियोगितामा खेल्दा आफूले सोचेको सपना साकार भएको बताए ।

‘एउटा सपना साकार भएको छ भन्ने लागेको छ । मैले सोचेको कुरा पूरा भयो । फाइनलमा पुग्न सकेनौं त्यसमा निकै दुःख लागेको छ । टिमले दिएको जिम्मेवारीलाई मैले निभाउन सकें भन्ने लागेको छ,’ विपिनले भने ।

केही समयअघि विराटनगरमा नरेश श्रेष्ठ मेमोरियल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको थियो । त्यसमा विपिनले कर्णालीको प्रतिनिधित्व गर्दै खेलेका थिए । त्यसपछि उनलाई कर्णालीले ट्यालेन्ट हन्टबाट टिममा ल्याएको हो ।
विपिनले दोस्रो क्वालिफायरमा जनकपुर बोल्टस विरूद्धको खेलमा जिम्मी निसमको विकेट लिँदा पनि खुसी लागेको बताए । खेल अवस्था फेरिने वाला थियो अन्तिमसम्म फिनिस गर्न नसक्दा दुःख लागेको बताए । विपिनले दोस्रो इनिङ्सको १६ औं ओभरमा दुई विकेट लिएका थिए । त्यसपछि कर्णालीलाई खेलमा फर्कने अवसर थियो ।

‘मलाई अट्याक गर्छन् भन्ने लागेको थियो । एउटै लाइनमा बल प्रयोग गरिरहेको थिएँ । एउटा बल चौका भएपनि चाडविक वाल्टनले पहिलाकै लाइनामा फाल्न भन्नुभयो । अनि सफलता मिल्यो । आजको खेलमा १३० रन बनेको भए राम्रो हुने थियो,’ विपिनले भने ।

प्रतियोगिताभर आफूलाई प्रशिक्षक मल्ल र कप्तान सोमपालले धेरै कुरा सिकाएको र आफूलाई सहज भएको बताए ।

आफ्नो क्रिकेट करियरको सफलतामा उनीहरुको धेरै ठूलो भूमिका रहने उनले बताए । शिखर धवनसँग टिममा खेल्न पाउनु र उनीबाट धेरै कुरा सिक्न पाउनु पनि आफ्नो लागि खुसीको कुरा भएको बताए ।

‘टिमका प्रशिक्षक र कप्तानले मलाई धेरै राम्रो अवसर दिनुभयो । मेरो क्रिकेट करियरमा सफलता पाउन उहाँहरुको ठूलो भूमिका रहनेछ । टिममा आउदा धवनसँग खेल्न पाउनु पनि मेरो लागि ठूलो कुरा हो । उहाँबाट धेरै कुराहरु सिक्न पाएँ,’ विपिनले भने ।

‘ट्यालेन्ट हन्ट’ मा भेटिएका १६ वर्षीय विपिनले एनपीएलमा जिम्मी निशम, मार्टिन गप्टिल, माइकल लेभिट, आन्द्रेस गौस, सोहिल तनभिर र वेन कटिङजस्ता विश्व क्रिकेटमा नाम चलेका खेलाडीको विकेट लिएका छन् ।

लेफ्ट आर्म स्पिनर शर्माको उच्चकोटीको प्रदर्शनसँगै नेपाली राष्ट्रिय टोली र अन्डर १९ टिममा पर्ने सम्भावना बढेको छ । नेपाली राष्ट्रिय टोलीमा ललित राजवंशी लेफ्ट आर्म स्पिनर हुन् । ललितको वैकल्पिक तथा साथ दिने स्पिनरको रूपमा उनलाई हेर्न थालिएको छ ।


क्लिकमान्डु