एनपीएल उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन् । बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

जनकपुरका लागि जिम्मी निशमले सर्वाधिक ४५ रन बनाए । १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे ।

त्यस्तै आकाश त्रिपाठीले १४ रन जोडे । कर्णालीका लागि विपीन शर्माले सर्वाधिक ३ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले १–१ विकेट लिए ।

कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन बनाए । त्यस्तै देव खनालले २४ रन बनाउँदा विलियम बोसिस्टोले १४ रनको योगदान गरे ।

जनकपुरका लागि ललित नारायण राजबंशी, मोहम्द मोसिन र जिम्मी निशमले २–२ विकेट लिए । त्यस्तै हर्श ठाकेर र शेर मल्लले १–१ विकेट लिए ।

अब जनकपुरले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग खेल्नेछ ।


क्लिकमान्डु