कक्षा १० मा अध्ययनरत किशोरीको हत्या: विश्वासले आफू सुत्ने खाटमुनि लुकाएका थिए लास
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१० सतुगंल खरिबोटमा बस्दै आएकी १७ वर्षीया सरिता तामाङको हत्या प्रकरणमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
२९ मंसिर राति १२ बजेदेखि हराएकी सरिताका दाइ नवीन रुम्बा तामाङले १ पुसमा प्रहरी वृत्त थानकोटमा हराएको निवेदन दिएका थिए। त्यसपछि प्रहरीले खोजी सुरु गरेको थियो । ३ पुस दिउँसो ३ बजे सरिताको शव चन्द्रागिरि–१० स्थित वीरेन्द्र श्रेष्ठको घरको भुइँतलाको कोठामा फेला परेको थियो ।
सरिता सोही घरमा भाडामा बस्दै आएकी थिइन् । घटनाको अनुसन्धानका क्रममा प्रहरीले सरिताको मोबाइललाई मुख्य आधार बनाएर अनुसन्धान अघि बढाएको थियो ।
मोबाइल ट्र्याक गर्दा, उक्त मोबाइल काठमाडौं–१४ खड्कागाउँमा बस्दै आएका २४ वर्षीय विश्वास तामाङको कोठामा फेला परेको प्रहरीले जनाएको छ । विश्वास धादिङको गजुरी गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् ।
पक्राउपछि विश्वासले सामान्य विवादका क्रममा सरिताको हत्या भएको स्वीकार गरेका छन् । हत्या पश्चात् उनले सरिताको शवलाई आफू सुत्ने खाटमुनि लुकाएका थिए । प्रहरीका अनुसार उनलाई ४ पुस राति पक्राउ गरिएको हो ।
काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर विश्वासमाथि कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान भइरहेको छ ।
मृतक सरिता विष्णुदेवी शिक्षा सदन मावि, नैकापमा कक्षा १० मा अध्ययनरत थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।