डा. निकोलस भुसालले भने: रविको हिरासतभित्रको फोटो मैले खिचेको हुँ, माफ गर्नुस् (भिडियो)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थक डा. निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटो आफूले खिचेको दाबी गरेका छन् ।

आफूले कुनै खराब नियत राखेर तस्बिर नखिचेको भन्दै उनले उनले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् ।

डा. भुसालले दुई दिनअघि उक्त फोटो फेसबुकमा पोस्ट गरेका थिए, जुन पछि डिलिट गरे । तर, बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले सोही फोटो फेसबुकमा राख्दै यसलाई प्रहरी प्रशासनले सार्वजनिक गरेको आरोप लगाएका थिए।

रविका समर्थकहरूले उक्त फोटो प्रहरीले सार्वजनिक गरेको आरोप लगाइरहँदा भुसालले फोटो प्रहरीबाट नभइ आफूले बाहिर ल्याएको उल्लेख गरेका छन् ।

‘यो पुलिसले ल्याएको होइन, म नै दोषी हुँ । मैले यो फोटो बाहिर ल्याएको हुँ,’ उनले भिडियोमा भनेका छन्, ‘यसका लागि म नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’

उनले रविको स्वास्थ्य परीक्षणका लागि हिरासतमा गएको बेला प्रहरीकै सामुन्ने फोटो खिचेको र त्यसबारे प्रहरीलाई पनि जानकारी भएको बताएका छन् ।फोटो खिच्ने उद्देश्य रविको स्वास्थ्य अवस्था ठिक रहेको देखाउनु भएको उनको भनाइ छ ।

‘भाइरल गराउन, फाइदा लिन, कसैलाई दोष लगाउन वा नराम्रो भन्नका लागि मैले यो फोटो खिचेको होइन,’ भुसालले भने । उनका अनुसार, यस फोटोमार्फत गृहमन्त्रीको जिम्मेवारी सम्हालेको व्यक्ति अहिले कस्तो अवस्थामा छन् भन्ने वास्तविकता देखाउन मात्र खोजिएको हो ।

उनले रवि लामिछाने हिरासतमा कस्तो अवस्थामा बसेका छन् भन्ने बुझाउनका लागि फोटो खिचेको तर त्यसको बिरोध भएपछि हटाएको उल्लेख गरे ।


क्लिकमान्डु