निजी क्षेत्र र सरकारको संयुक्त लगानीमा पहिलोपल्ट ३ अर्बको प्रसारणलाइन निर्माण हुँदै, आज सम्झौता
काठमाडौं । सार्वजनिक निजी साझेदारीमा पहिलोपटक प्रसारणलाइन निर्माण हुने भएको छ ।
तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइन निजी क्षेत्रसहितको लगानीमा निर्माण हुन लागेको हो । मंगलबार राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ६ वटा प्रवर्धक कम्पनीबीच एमओयु हुन लागेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा दिउँसो १ बजे एमओयु गर्ने तयारी भएको छ ।
यो प्रसारणलाइनले करिब ७०० मेगावाट विद्युत वहन गर्न सक्छ । ७७.५ मेगावाटको घुन्सा खोला र ७०.३४ मेगावाटको सिम्बुवाखोला जलविद्युत आयोजना एचआईडीसीएल, विद्युत उत्पादन कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणले साझेदारीमा निर्माण गर्न लागेका छन् । यो आयोजनाहरु आगामी वर्षबाट निर्माण लैजाने तयारी छ ।
१६६ मेगावाटको सुपर तमोर निर्माणको तयारी छ । प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ र ७ भएर बग्ने तमोर नदीमा निर्माण हुनेछ ।
क्रिष्टल पावर डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । क्रिष्टलपावर, रेमिट हाइड्रो, सिम्बुआ रेमिट हाइड्रोसहित निजी क्षेत्रका ५ प्रवर्द्धक कम्पनीसँग एमओयु गर्न लागिएको हो । यो एमओयुपछि सयुक्त कमपनी निर्माण हुनेछ । यी निर्माण हुन लागेका आयोजनाहरु यहि प्रसारणलाइन भएर राष्ट्रिय प्रसारण प्रणालीमा आउनेछ ।
उत्पादन अनुमति पाए पनि अहिलेसम्म निजी क्षेत्रले प्रसारणलाइन निर्माणको अनुमति पाएको छैन । नेपाल सरकारले २०३० मा १३ हजार मेगावाट र ३०३५ मा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरि त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति लिएको छ । २०३० सम्ममा ६ खर्ब रुपैयाँ, २०३५ सम्ममा ७ खर्ब रुपैयाँ र २०४० सम्ममा ९.१ खर्ब रुपैयाँ प्रसारणलाइन निर्माणका लागि आवश्यक छ । जलविद्युत् आयोजनाहरुको उत्पादन मिति तय भएपनि प्रसारणलाइनको अभावमा खेर जाने अवस्था छ ।
प्रसारणलाइन निर्माणका लागि आवश्यक पुँजी सरकारी स्रोतबाट जुटाउनु चूनौतीपूर्ण छ । अहिले प्रसारणलाइनमा सरकारले मात्रै लगानी गरिरहेको छ । निजी क्षेत्रको सहभागिता एक मुख्य विकल्प हो । सुरुवाती चरणमा यसलाई सार्वजनिक निजी साझेदारी मार्फत विकास गरी आवश्यकता अनुरुप पूर्ण निजी लगानीमा समेत निर्माण र संचालन गर्न सकिने देखिन्छ । जसबाट प्रसारणलाइन निर्माणमा विविधिकरण भइ प्रसारण प्रणालीको विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।
सरकारको यहि मान्यता अनुरुप, राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले आफुले अध्ययन गरी तयारीमा रहेका आयोजना मध्ये तमोर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइन लाइ सार्वजनिक निजि लगानी मार्फत बुट मोडेलमा निर्माण गर्न लागेको हो ।
क्र. सं. | कम्पनीको नाम | आयोजना | जडित क्षमता (मेगावाट) | आयोजनाको हालको अवस्था |
१ | रेमिट हाइड्रो लिमिटेड | घुन्सा खोला जलविद्युत आयोजना | ७७.५ | पिपिए सम्पन्न भइ उत्पादन अनुमतिपत्र प्राप्त भइसकेको |
२ | सिम्बुवा रेमिट हाइड्रो लिमिटेड | सिम्बुवा खोला जलविद्युत आयोजना | ७०.३ | उत्पादन अनुमतिपत्र प्राप्त भई पिपिएको प्रक्रियामा रहेको |
३ | क्रिस्टल पावर डेभलपमेन्ट प्राइभेट लिमिटेड | सुपर तमोर जलविद्युत आयोजना | १६६ | पिपिए सम्पन्न भइ उत्पादन अनुमतिपत्र प्राप्त भइसकेको |
४ | युनियन हाइड्रोपावर लिमिटेड | अपर तमोर ए जलविद्युत आयोजना | ६० | सर्वेक्षण अनुमतिपत्र रहेको र पिपिएको प्रक्रियामा रहेको |
५ | नेपाल हाइड्रो भेन्चर प्राइभेट लिमिटेड | तमोर खोला जलविद्युत आयोजना | ४३ | सर्वेक्षण अनुमतिपत्र रहेको र पिपिएको प्रक्रियामा रहेको |
३२ किमी लम्बाई र एक २२०/१३२ केभी को सबस्टेसन कार्य क्षेत्र रहेको उक्त आयोजनाको कुल लागत करिब ३.८ अर्ब रुपैयाँ छ । निर्माण पूर्वका सबै जसो काम पूरा भएको छ । आयोजनाको प्रसारण अनुमति प्राप्तिको समेत अन्तिम चरणमा रहेको छ ।
हाल ७४% सेयर उत्पादक कम्पनी र २६% सेयर ग्रीड कम्पनीलाइ प्रस्ताव कायम गरिएको छ । आयोजनाको मुख्य आय स्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको ह्लिलिङ चार्ज हुनेछ । यो आयबाट ऋण चुक्ता र सञ्चालन खर्च कटाएर हुने नाफा/नोक्सान सेयर होल्डरले ब्यहोर्ने छ । यस आयोजना आफ्नै स्वतन्त्र कर्पोरेट मान्यताबाट परिचालन हुने ग्रीड कम्पनीका अधिकारीहरुको भनाई छ ।