सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्न चासो देखाएन : अध्यक्ष सिंह



काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानी गर्न सरकारले चासो नदेखाएको आरोप लगाएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा तथा सातौँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले अर्थमन्त्रीले निर्माण व्यवसायीहरूले भुक्तानीको लागि कुनै समस्या नहुने बताए पनि सरकारले चासो नदेखाएको बताए ।

उनले नेपाली नागरिकले विदेशी मुलुकमा गएर रेमिटेन्स मार्फत अर्थतन्त्र चलायमान गराउने प्रयास गर्दा पनि आन्तरिक अर्थतन्त्र अझै पनि चलायमान हुन नसकेको बताए ।

उनले भने,’हामीले हाम्रो समस्याको बारेमा मन्त्रालयदेखि अन्य सरकारी निकायहरूमा भेटघाट गर्दा समस्याहरूको समाधान गर्ने आश्वासन दिए पनि हाम्रो भुक्तानी भएको छैन यसमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ ।’

अध्यक्ष सिंहले सञ्चारकर्मीहरूलाई प्रेरित गर्न आवश्यक रहेकाले महासङ्घले समेत विभिन्न समयमा संञ्चारकर्मीहरुलाई सम्मान गर्दै आएको बताए ।

उनले राष्ट्र बैंकको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र चलायमान बनाउने काम नगरेको दाबी गरे । उनले निर्माण व्यवसायीहरूले समयमा नै कर्जाहरू तिर्न नसक्दा प्रायाप्त मात्रामा काम गर्नको लागि असहज भएको बताए । उनले सरकारको नीतिहरूका कारण मङ्सिरपछि ९० प्रतिशत व्यवसायीहरू पलायन हुनुपर्ने बाध्यता आएको बताउँदै तत्काल भुक्तानी गर्न माग गरे ।


क्लिकमान्डु