भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ठप्प हुने अवस्थामा, नियमित उडान गरिरहेका तीन वायुसेवाले उडान बन्द गर्दै
काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अन्तर्राष्ट्रिय उडान ठप्प हुने अवस्था सिर्जना भएको छ ।
हाल नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवाले मौसमको कारण देखाउँदै उडान बन्द गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेका छन् ।
हाल काठमाडौंबाट उडान गरिरहेका वायुसेवालाई मात्रै भैरहवामा उडान गर्न लगाइएको र भैरहवामा उडान बन्द गर्दा काठमाडौंको उडान भने नियमित गराउन चाहेका विदेशी वायुसेवाले भैरहवाको उडान बन्द गर्न खोजेका हुन् ।
हाल भैरहवाबाट युनाइटेड अरब इमिरेट्स (यूएई)को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको थाई एयर एसियाले नियमित उडान गरिरहेका छन ।
यसअघि उडान गरिरहेको कतार एयरवेजले ३० नोभेम्बरदेखि उडान बन्द गरेको भएपनि तीन विदेशी वायुसेवाले भने सेवा दिइरहेका छन । अब भने जाडो मौसमसँगै भिजिबिलिटी कम भएको बहाना गर्दै भैरहवाको उडान बन्द गर्न ती वायुसेवाले खोजिरहेका छन् ।
हाल नियमित उडान गरिरहेका तीनवटै विदेशी वायुसेवाले मौसमको कारण देखाउँदै उडान स्थगन गर्ने पत्र पठाएएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । यद्यपी प्राधिकरणले भने उडान बन्द नगर्न र सम्बन्धित वायुसेवालाई परेको समस्याको वारेमा छलफलबाट समस्याको समाधान गर्न आग्रह गरेको भुलले बताए ।
भैरहवाबाट उडान बन्द गर्ने भन्दै पत्र पठाएका तीन वटै विदेशी वायुसेवालाई उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले छलफलमा बोलाएका छन् ।
प्राधिकरणले सोमबार फ्लाई दुबईका प्रतिनिधिसँग छलफल गरेको छ । फ्लाई दुबईले आगामी जनवरी १३ पछिको उडान बन्द गर्न चाहेको छ । प्राधिकरणले सोमबारै जजिरा एयरलाइन्सका नेपालस्थित प्रतिनिधिलाई छलफलमा बोलाएको प्राधिकरणले जानकारी दिएको छ ।
भैरहवामा जाडो मौसमसँगै बढेको चिसो र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी उडान अवतरण गर्न नपुग्ने अवस्थामा पुग्ने भन्दै तत्कालका लागि उडान नगर्न ती विदेशी वायुसेवाले खोजका हुन् ।
भैरहवा विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइजेसन रिक्वायर्ड’ (आरएनपीएआर) प्रणाली जडान नभएका कारण न्यून भिजिबिलिटीमा उडान–अवतरण गर्न नसकिएको अवस्थालाई दृष्टिगत गर्दै कसरी सहजीकरण गर्न सकिन्छ भनेर छलफल भइरहेको प्राधिकरणका सूचना अधिकारी भुलले बताए ।
उनका अनुसार हाल ५ वटा वायुसेवाले सातामा २४ वटा उडान गर्दै आएका थिए । पछिल्ले समय भैरहवामा भिजिबिलीटी कम हुँदा वायुसेवाको लागत बढेको र यात्रुलाइ पनि सकस भएको बताएका छन् ।
हाल कतारको भैरहवा उडान बन्द भैसकेको छ भने जजिराले जनावरीदेखि उडान नगर्ने भन्दै उडान तालिका स्वीकृत गराइसकेको छ भने फ्लाइ दुबइ र एयर एसियाले पनि उडान गर्न चाहेको छैन । नेपाल एयरलाइन्सको पनि सीधा उडान नभएकोवले अब भैरहवाको उडान ठप्पको अवस्थामा पुग्ने भएको छ ।