निर्माण क्षेत्रलाई सरकारले प्राथमिकता दिएको मन्त्री दाहालको दावि
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण क्षेत्रलाई गति दिन सरकारले प्राथमिकता दिएको बताएका छन ।
१७ औ राष्ट्रिय निर्माण दिवसका अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले निकालेको प्रभातफेरीको त्रिपुरेश्वरमा उद्घाटनका क्रममा उनले अधुरा योजनाहरुलाई समयमानै पूरा गराउने प्रमुख प्राथमिकता रहेको बताए । निर्माण व्यवसायीलाई दिन बाँकि भुक्तानी केहि उपलव्ध गराईएको भन्दै बाँकि रकम समेत आउँदा साता निकाशा हुने उनको भनाई थियो ।
निर्माण क्षेत्रमा देखिने सुस्तताले नागरिक निराश हुने भएकाले सवै तिर उत्साह जगाउने गरि काम गर्न उनले निर्माण व्यवसायीहरुलाई आग्रह समेत गरे । नीतिगत र कानूनी समस्याका कारण कुनै पनि योजना अवरुद्ध हुन नदिने उनको प्रतिवद्धता थियो ।
कार्यक्रममा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशलाई समृद्ध बनाउन निर्माण क्षेत्रलाई गति दिन जरुरी रहेको बताए । यसकालागि सरकारले कतिपय नीतिगत र कानूनी व्यवस्थामा सुधार गर्न खाँचो रहेको बताए ।
महासंघले निर्माण दिवसको अवसर पारि प्रभातफेरी तथा रक्तदान कार्यक्रमको आयोजना गरेको महासचिव रोशन दाहालले जानकारी दिए ।