हेटौंडामा बन्द रहेका तीन उद्योग कारबाही प्रक्रियामा



बागमती । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।

झन्डै ४ वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेशनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो ।

विभिन्न कारणले बन्द रहेका ती उद्योग सञ्चालकलाई पटक–पटक पत्राचार गरे पनि सम्पर्कमा आउन नचाहेकाले कारबाही प्रक्रिया अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताइन् ।

‘हामीले सञ्चालकलाई निरन्तर फोन र पत्रचार गरी बोलाइरहेका छौँ’, प्रमुख कुँवरले भनिन्, ‘तर तीमध्ये नेपाल ब्रुअरीका सञ्चालक सम्पर्कमा आउनुभएको छैन, ग्रीन गोल्ड र बानियाँ मल्टी प्रोडक्टका सञ्चालक केही समय सम्पर्क आएर उद्योग चलाउँछु भनेर जानुभएको थियो । त्यसपछि उहाँहरु पनि सम्पर्कमा आउनुभएन ।’

उद्योगका लागि जग्गा ओगटेर राख्ने तर उद्योग नचलाउने गरेकाले कारबाही प्रक्रिया अघि बढाएको प्रमुख कुँवरको भनाइ छ । कारबाहीस्वरुप नेपाल ब्रुअरी प्रालिको विद्युत् लाइन काटिएको र अन्य कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिइन् ।

ग्रिन गोल्ड र बानियाँ मल्टी प्रोडक्ट उद्योगमा जडान गरिएको विद्युत् र खानेपानी लाइन काट्ने तयारी भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयसँग सम्झौता गरेर पनि लामो समयदेखि उद्योग सञ्चालन नगर्ने ५ वटा उद्योगको सम्झौता खारेज गरिएको छ ।

अमेरिकाको आर्थिक सहयोगमा विसं २०२० मा स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल १ सय ४४ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिइ उद्योग सञ्चालन गरिरहेका छन् । कुल ३ हजार २ सय २८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र हाल १२ उद्योग निर्माणाधीन अवस्थामा छन् ।

कुल क्षेत्रफलमध्ये हाल भाडामा दिएको २ हजार १ सय ७८ रोपनी, खाली जमिन २६.५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल ५ सय ९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ ओटा रहेका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रभित्रका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ ।

मुलुककै सबैभन्दा ठूलो यस औद्योगिक क्षेत्रमा सुरक्षा चुनौती बढ्दो छ । औद्योगिक क्षेत्रको चारैतिर पर्खाल लगाउन नसक्दा सुरक्षा चुनौती बढेको कार्यालय प्रमुख कुँवरले बताइन् ।

औद्योगिक क्षेत्रकोबीचबाटै सार्वजनिक बाटो भएकाले सुरक्षा चुनौती बढेको उनको भनाइ छ । ‘हामीले पर्खाल लगाउन पटक– पटक प्रयास गर्‍यौं, तर स्थानीयले अवरोध गर्दै आएका छन्’, प्रमुख कुँवरले भनिन् ।


क्लिकमान्डु