चीनको छेन्दु प्रस्थान गरिन् परराष्ट्रमन्त्री राणा, चिनियाँ विदेशमन्त्रीसँग छलफल गर्ने
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् ।
चीनका परराष्ट्र मन्त्री वाङ लीसँग विशेष भेटघाटका लागि परराष्ट्र मन्त्री राणा छेन्दु प्रस्थान गरेकी हुन् ।
उनले शुक्रबार चिनियाँ विदेशमन्त्री यीसँग भेटवार्ता गर्ने छिन् ।
छेन्दुमा चिनियाँ परराष्ट्र मन्त्री र राणाबीच प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेण्डामाथि छलफल हुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गत ऋण समेत लिने गरि तयारी अघि बढाइसकेको अवस्थामा परराष्ट्र मन्त्री राणाको पार्टी नेपाली कांग्रेसले बीआरआई अन्तर्गत अनुदान मात्र लिने औपचारिक निर्णय गरिसकेको छ।
परराष्ट्र मन्त्री राणा र चिनियाँ समकक्षीबीच बीआरआई अन्तर्गत अनुदानमा कसरी कार्यक्रम सञ्चालन गर्ने र प्रधानमन्त्रीको भ्रमण कसरी सफल बनाउने भन्ने विषयमा छलफल हुने स्रोतले जानकारी दियो ।
चिनियाँ समकक्षीसँग भेटेर स्वदेश फर्किएपछि राणा प्रधानमन्त्रीको भ्रमण दलमा चीनको राजधानी बेइजिङ जाने कार्यक्रम छ ।
उनी मंसिर १५ गते काठमाडौं फर्किने र प्रधानमन्त्री ओलीसँग पुन: मंसिर १७ गते चीन जाने कार्यक्रम छ ।