महानगर एमाले विवाद: दरबारमार्ग सभाको भोलिपल्ट रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलनको पत्र



काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमाले र काठमाडौं महानगरबीच केही दिनयता विवाद जारी रहेको छ।

कात्तिक ७ गते नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा सडक बन्द गरेर सभा आयोजना गरेको थियो । त्यसक्रममा सडक र पेटीमा फोहोर भएको भन्दै महानगरले एमालेलाई १ लाख रुपैयाँ जरिवाना तिराएको पत्र सार्वजनिक भयो ।

पत्र सार्वजनिक भएपछि औपचारिकर रुपमा पत्र दर्ता गर्न भन्दै महानगरको टोली एमाले मुख्यालय च्यासल पुगेको थियो । तर एमाले कार्यालय सचिवले उक्त सभाको आयोजक नेकपा एमाले केन्द्रीय कार्यालय नरहेको र सभा सकिएपछि एमाले नेता कार्यकर्ताले फोहोर उठाएको भन्दै पत्र लिन अस्वीकार गरे ।

एमालेले पत्र लिन अस्वीकार गरेपछि महानगरपालिकाले हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएको जनाएको छ ।

यसैबीच एमाले नेताहरुले कार्यक्रम सकिएपछि फोहोर संकलन गरिएको भनेपछि महानगरपालिकाले त्यस क्षेत्रमा फोहर संकलनको काम गर्दै आएको कम्पनीलाई त्यहाँको अवस्थाबारे जानकारी माग्दै पत्र काटेको थियो ।

महानगरले लिखित पत्राचार गर्दै दरबारमार्ग क्षेत्रको फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको ‘क्लिन काठमाडौं वेस्ट मेनेजमेन्ट’बाट एमालेको कार्यक्रमको भोलिपल्ट फोहोर संकलन गरिएको विवरण माग गरेको हो ।

महानगरको उक्त पत्रको जवाफमा मेनेजमेन्टले बुधबार जवाफी पत्र पठाएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभागलाईज्ञ पठाइएको पत्रमा उल्लेख गरिए अनुसार मंसिर ८ गते दरबारमार्ग क्षेत्रमा फोहरमैला व्यवस्थापनका लागि सधैझैँ बिहान ४ बजेदेखि सफाइकर्मी परिचालन गरिएको थियो ।

पत्रमा सार्वजनिक संवेदनशीलता भएका स्थानहरूबाट कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झन्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्वराजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको उल्लेख छ ।

‘सार्वजनिक संवेदनशीलता भएका स्थानहरूमा बदामका बोक्रा, चटपटे बनाउने क्रममा प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झन्डा, चुरोटका ठुट्टा, बिरुवाका हाँगा, तथा पूर्वराजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको जानकारी गराउन चाहन्छौँ’ पत्रमा भनिएको छ ।

फोहोर संकलन कार्य गोल्डेन टिभी, दरबारमार्ग ट्राफिक प्रहरी तथा काठमाडौं महानगर प्रहरीको निगरानीमा सम्पन्न गरिएको पत्रमा उल्लेख छ । त्यसक्रममा २ ट्रक फोहोर संकलन गरिएको कम्पनीले महानगरलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

‘हाम्रो कम्पनीका कर्मचारीहरूले ६.७५ टन क्षमताका ट्रिपरहरू प्रयोग गरी २ ट्रक फोहरमैला संकलन गरी बञ्चरे ल्यान्डफिल साइटमा ढुवानी गरेका थिए’, पत्रमा भनिएको छ ।

सीसीटीभी क्यामेराहरूको निगरानीमा सरसफाइको काम भएको भन्दै कम्पनीले फोहरमैलाको प्रकृति र अवस्था समेत यथार्थ रूपमा अभिलेखमा रहेको उल्लेख गरेको छ ।


क्लिकमान्डु