नेपालको क्रेडिट रेटिङ दक्षिण एसियामा भारतपछि राम्रो, वित्त नीतिको प्रभावकारितामाथि फिचको प्रश्न
काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी फिचले नेपाललाई लगानीका लागि जोखिमयुक्त भएको जनाएको छ । बिहीबार नेपालको शाख मुल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको हो ।
बीबी माइनस रेटिङ लगानीका लागि जोखिमयुक्त ‘नन्–इन्भेस्टमेन्ट स्पेकुलेटिभ’ (गैरलगानी सट्टा) मानिन्छ । सुशासन विधि र पद्दतीमा विश्वास गर्ने लगानीकर्ताहरु बीबी माइनस रेटिङ प्राप्त देशमा लगानी गर्न रुचाउँदैनन् ।
नेपालको सार्वजनिक ऋण कम हुनु सकारात्मक भए पनि सरकारी लगाी भएका सर्वाजनिक संस्थाको बढ्दो ऋण जोखिमपूर्ण भएको फिचको ठहर छ । सार्वजनिक संस्थाले हाल कुल गार्हस्थ्य उत्पादनको करिब १ प्रतिशत बराबरको ऋण लिएका छन् । १ प्रतिशत ब्याजदरमा औसतमा १३ वर्षभन्दा बढी अवधिको वैदेशिक ऋण लिनु सकारात्मक भएको फिचको मूल्यांकन छ ।
यसैगरी ३ वर्ष भन्दा कमअवधिको आन्तरिक ऋणको ब्याजदर उच्च नहुनुलाई समेत फिचले ठहर¥याएको छ । तर, बैंक तथा वित्तीय संस्थामा रेमिट्यान्सका कारण तरलता भएका कारण आन्तरिक ऋणको ब्याजदर कम भएको फिचले जनाएको छ ।
यता अतिमक विकसित मुलुकबाट स्तरोन्नती नभएसम्म अर्थात् सन् २०२६ सम्म नेपालले सस्तो ब्याजदरमा अन्तर्राष्ट्रिय निकायबाट ऋण प्राप्त गर्न सक्ने फिचको भनाइ छ ।
सरकारले राजस्वको ८ प्रतिशतसम्म ब्याज भुक्तानीमा खर्च गर्ने गरेका कारण तथा सार्वजनिक ऋण–राजस्व अनुपात २३० प्रतिशत पुग्नु बीबी मेडियन रेटिङ दिइएको छ ।
बैंकिङ क्षेत्रले प्रवाह गरेको कर्जा जीडीपीको तुलनामा ८६ प्रतिशत पुगे पनि रेमिट्यान्सका कारण जीडीपीको तुलनामा निक्षेप १०६ प्रतिशत पुगेका कारण बैंकिङ क्षेत्र व्यवस्थापन गर्न सक्ने जोखिममा रहेको फिचको भनाइ छ । यसैगरी गैरबैंकिङ क्षेत्रबाट थप १० प्रतिशत कर्जा प्रवाह भएको र त्यो जोखिमयुक्त हुन सक्ने रेटिङ एजेन्सीको ठहर छ ।
निरन्तर सरकार परिवर्तन हुँदा दीर्घकालीन सुधार हुन नसकेको, राजनीतिक अस्थिरताले केन्द्रीय बैंकको सञ्चालनमा प्रभाव परेको रेटिङ प्रतिवेदनमा उल्लेख छ । सरकारको सार्वजनिक वित्त व्यवस्थापन कमजोर अवस्थामा र बजेट विनियोजन प्रभावकारी नभएको बताइएको छ । राजनीतिक अस्थिरताले विकास परियोजना कार्यान्वयन प्रभावकारी नहुँदा मध्यमकालीन आर्थिक वृद्धिको परिदृष्य कमजोर रहेको औंल्याइएको छ ।
स्थिर आर्थिक वृद्धि र सार्वजनिक ऋण निरन्तर भुक्तानी हुनु सकारात्मक पक्ष रहेको फिचको ठहर छ ।
क्रेडिट रेटिङ गर्दा कुनै पनि देशको साखको गुणस्तर मूल्यांकन गर्ने, ऋण दायित्व भुक्तान गर्ने क्षमता विश्लेषण गर्ने, विभिन्न प्रकारका वित्तीय जोखिम पहिचान गर्ने, सरकारको राजस्व परिचालन क्षमता र खर्च प्रणाली विश्लेषण गर्ने, विदेशी मुद्राको स्रोत र स्थिरता तथा आर्थिक पारदर्शिता लगायतका विषय अध्ययन गर्दै निश्चित अंक दिइन्छ ।
क्रेडिट रेटिङमा बढी अंक अर्थात् ए प्लस प्राप्त गर्ने देशको आर्थिक अवस्था बलियो भएको सन्देश जाने र कम अंक प्राप्त गर्ने आर्थिक रूपमा कमजोर भएको सन्देश जाने गर्छ ।
क्रेडिट रेटिङ गर्दा फिचले ट्रिपल ए देखि सी सम्म अंक दिने गर्छ । ट्रिपल ए, डबल ए प्लस, डबल ए, डबल ए, ए प्लस, ए, ए माइनल, ट्रिपल बि प्लस, ट्रिपल बि र ट्रिपल बि माइनल अंक प्राप्त गर्ने देशलाई लगानीको हिसाबले न्यून जोखिम मानिने गर्छ।
दक्षिण एसियाली देश मध्ये भारतको रेटिङ ट्रिपल बी माइनस रहेको छ । जुन लगानीयोग्य अवस्था हो ।
डबल बि प्लस, डबल बि र डबल बि माइनसलाई जोखिम सहितको लगानीको अवस्था मान्ने गरिन्छ । दक्षिण एसियाली देश मध्ये बंगलादेशको रेटिङ बीप्लस रहेको छ ।
राजनीतिक अस्थिरतापछि सुध्रिएको श्रीलंकाको रेटिङ ट्रिपल सीप्लस छ । यस्तै पाकिस्तानको ट्रिपल सी प्लस नै रहेको छ भने माल्दिभ्सको सीसी रहेको छ ।